जितेन्द्र बुढाथोकी
रुकुमकोट,२६ भदौ । पूर्वी रुकुममा चार जना प्रहरी सहित ११ लाई कोरोना संक्रमण भएको छ । पूर्वी रुकुममा जिल्ला बाहरिबाट आएर क्वारेन्टाइनमा बसिरहेका ४ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका ४ पुरुषमा कोरोना देखिएको छ । यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ३ का २३ र ३६ वर्षका पुरुष, वडा नम्बर ४ का २७ र ६३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका कोल्ड चेन इनिस्पेक्टर मनोजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।
यस्तै वडा नम्बर ६ का ३५ वर्षकी एक महिला, वडा नम्बर ७ का ३५ वर्षका एक पुरुषमा कोरोना देखिएको छ । कोल्ड चेन इनिस्पेक्टर श्रेष्ठका अनुसार १ जना बैंकका कर्मचरी, एक जना व्यापारी र एक जना कन्ट्रयाक ट्रेसीङमा परेका व्यक्तिमा समेत कोरोना देखिएको छ भने अन्य सबै क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना देखिएको हो ।
जिल्लाका तीनवटा गाउँपालिका भरबाट एक सय ८५ जनाको स्वाब संकलन गरिएकोमा सिस्ने र भूमे गाउँपालिकाको मात्र रिपोर्ट आएको छ भने पुथाउत्तरगंगा गाउँपालिकाको रिपोर्ट भोली आउने स्वास्थ्य कार्यालयले जनाएको छ । भूमेका भने सबै जनाको रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमा १२ जना संक्रमित आइसोलेसनमा छन् भने २५ जना निको भएर घर फर्किसकेका छन् ।।
