काठमाडौँ, २५ भदौ । सरकारले नियमित अन्तर्राष्ट्रिय उडान शुरु गरिएका मुलुकबाट थप उडान अनुमति दिने भएको छ ।
उपप्रधानमन्त्री, परराष्ट्र मन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र श्रममन्त्रीबीच आज भएको छलफलपछि प्रधानमन्त्री र उपप्रधानमन्त्री बीचको उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको सङ्ख्या थप गर्ने समझदारी भएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।
उनका अनुसार नियमित उडान शुरु भएका मुलुकबाट आवश्यकताका आधारमा यात्रु ल्याउन सकिनेछ । कुनै कम्पनीले कम्पनीकै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा त्यसलाई प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ । श्रम कल्याणकारी कोषबाट उद्धार गर्नुपर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशको नियोगसँग समन्वयमा उडानको व्यवस्था गरिने जनाइएको छ ।
नियमित उडान नभएका मुलुकमा पिसीआर नेगेटिभ भएका यात्रुका लागि मागका आधारमा उडान सङ्ख्या थप गरिने पर्यटनमन्त्री भट्टराईले बताए । रासस