Indrenionline.com

असोज १ बाट लामो दुरीका सार्वजनिक यातायात चल्ने

इन्द्रेणी संवाददाता
काठमाडौं, २५ भदौ । नेपाल यायायात राष्ट्रिय महासङ्घ र यातायात मजदुर सङ्गठनले असोज १ गतेबाट लामो दूरीका सार्वजनिक सवारीसाधान सञ्चालन गर्ने भएका छन् ।

व्यवसायीले बुधबार यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललाई भेटेर सरकारले रोके पनि आफूहरूले गाडी चलाउने जानकारी दिएका छन् ।

सरकारले असोज १ गतेबाट लामो तथा मध्यम दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने भनेको छ तर व्यवसायी भने सरकारले फेरि समय सार्नसक्ने सम्भावना रहेको बताएका छन् । त्यसैले बुधबार विभागलाई जानकारी गराएको महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

असोज १ गतेबाट सुरक्षा सावधानी अपनाएर आफूहरूले गाडी चलाउने र सरकारले रोक लगाए गाडी सरकारलाई नै बुझाउने व्यवसायीको तयारी छ ।

कोरोनाको कारण देखाउदै सरकारले लामो समयदेखि सार्वजनिक यातायात सञ्चालन गर्न नदिदा यातायात व्यवसायीहरु ठूलो मर्कामा परेका छन् भने लामो समयसम्म थन्किदा कतिपय गाडीहरु ड्यामेज हुने अवस्थामा समेत पुगेको व्यवसायीहरुको गुनासो छ ।