Indrenionline.com

शैक्षिक पाठ्यभार घटाउने प्रक्रिया शुरु

काठमाडौं, २४ भदौ । पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ ।

वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने केन्द्रका महानिर्देशक केशव दाहालले बताए ।

उनका अनुसार विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको छ । कोरोनका कारण यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना ढिलका भइसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति दिनेछ ।