Indrenionline.com

पूर्व माओवादी लडाकुको यो हरिबिजोग,सडकमै हुन्छ दुधे बालक सँग वास

केशरमान बुढाथोकी 

रोल्पा,२३ भाद्र । जनताको मुक्तिका लागि भन्दै २०५२ सालमा सुरु गरिएको तत्कालिन जनयुद्धको उद्गम थलो रोल्पामा एक पूर्व लडाकु आजभोली अर्धचेत अवस्थामा सडक र गल्लीहरुमा भौतारिरहेकी छिन ।

भर्खरै ३२ टेकेकी त्रिवेणी गाउँपालिका  ५ जगरबोटकी एक पूर्वमाओवादी लडाकु जनयुद्धका बेला जातीय विभेदको अन्त्य गर्ने भन्दै अन्तरजातीय बिवाह गर्न राजि भइन् । तर पूर्व माओवादी कलाकार समेत रहेकी ती लडाकु महिला यतिबेला सडकमा आफु एक्लै होइन  साथमा आफ्नो अबोध दुधे बालकलाई च्यापेर हिडिरहेको अवस्थामा भेटिन्छन् ।

श्रीमतीका लागि आफुले किन्न नसकेका औषधिका खोल देखाउदै वृद्ध उजिलाल ।

उनि सडकमा यसरी दुधेबालक च्यापेर भौतारिनुको कारण कुनै माओवादीका ठुला नेता या अन्य कुनै कारणले होइन । आफ्नै तत्कालिन सहकर्मी वा जीवन साथीका कारण भएको उनका आफन्त बताउछन ।

वर्गीय समानताका नारा लगाउदै समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेर सुरु गरिएको जनयुद्धमा सबै खाले विभेदको अन्त्य गरि सभ्य समाज निर्माण गर्नु एकमात्र उद्देश्य रहेको थियो । यसैको लहडमा ओठ निचोर्दा दुध आउने उमेरमा देश र जनताको खातिर भूमिगत भइन् रोल्पा त्रिवेणी ५ जगरबोटकी बिट्टु बिक ।

समाज परिवर्तनका लागि घर र बाआमा त्यागेर तत्कालिन युद्धमोर्चामा होमिएकी बिट्टुले राष्ट्र परिवर्तनमा रगत पसिना कति बगाइन् जसको कुनै लेखाजोखा नै छैन तर त्यहि परिवर्तनकारी युद्ध उनको जीवनमा बज्रपात हुन पुग्यो । जसका कारण उनिको अहिले बेहाल छ ।

राष्ट्र परिवर्तनको पहरेदार बनेकी बिट्टुकै जन्मस्थल रोल्पाबाट उदय भएको १० वर्षे जनयुद्धको जगमा टेकेर राष्ट्रमा आएको परिवर्तनकै कारणले आज रोल्पाका दर्जनौं नेताहरु राष्ट्र संचालनको अग्रपंक्तिमा छन् । तर  बिट्टुको जीवन त्यहि परिवर्तनकारी युद्धले उजाडिएको बताउछिन स्थानीय भीमा डाँगी । उनका अनुसार युद्धमा जानु  अघि अत्यन्तै मिजासिलो स्वाभावकी बिट्टु युद्धमा गएपछि उतैबाट बिबाह गरि छोरीहरु बोकेर आएकी हुन् । पछी श्रीमानले माइतीमै अलपत्र छाडेर गएपछि त्यसैको तनाव सहन नसकेर उनले मानसिक सन्तुलन गुमाइन ।

त्यस्तै बिट्टुकी आमा पनि युद्धमा राम्रै गएकी छोरी आफुले उतै बिबाह गरेको भन्दै छोरी सहित माइतमा फर्केको बताउछिन । उनकाका अनुसार छोरीले बिबाह गरेर काखमा छोरी लिएर आइन । केहि दिन माइतमा बसेर आफ्नो घरमा जालान भन्दा ज्वाईले छोरीलाई यतै बसालेर कमाउन जान्छु भन्दै गएको तर लामो समय सम्पर्क बिहिन भएपछी छोरीले मानसिक सन्तुलन गुमाएको उनको भनाइ रहेको छ ।

मानसिक सन्तुलन गुमाएर सडकमै छोरी सँग सुतिरहेकी बिट्टु बिक ।

छोरीको यस्तो बेहाल अवस्था देखेर भक्कानिदै उनि भन्छन – देश बदल्न जान्छु भनेर हिडेकी छोरी मानसिक सन्तुलन गुमाउने अवस्थामा पुगी । पुरानो ज्वाई लामो समय हराएपछी सहारा चाहिएला भन्दै स्थानीय उजिलाल संग बिबाह गरिदिईम तर उमेर झण्डै आधा भन्दा बढी फरक परेका श्रीमान् संग उ रमाउन सकिने अनि फेरी मानसिक सन्तुलन गुमाई ।

जातीय विभेदको अन्त्य गर्ने भन्दै  आफु संगै जनयुद्धमा होमिएका सिन्धुपाल्चोकका लिम्बु थरका एक युवक संग बिवाह बन्धनमा बाँधिएकी बिट्टु शान्ति प्रक्रिया पछी पैसा कमाउन जान्छु भनेर आफु सहित दुई छोरीलाई माइतीमै छाडेर गएका लिम्बु थरका ती युवा कहिल्यै फर्केर आएनन यहि घटनाले नै बिट्टु सपना उजाडियो ।

जातीय कारणले बिग्रियो बिट्टुको पहिलो घरबार

बिबाहको बेला तामाङ थरका पहिलो श्रीमान् संग बिट्टु बिक।

जातीय समानताको नारा ओकल्दै भएको युद्धका बेला आदर्शवादी बनेर अन्तरजातीय बिबाह गरेका कारण उनको पहिलो घरवार बिग्रिएको स्थानीय बताउछन ।

अन्तरजातीय बिबाह गरेकी उनका श्रीमानले उनि दलीत भएका कारण घरमा उनलाई राम्रो व्यावहार नगर्ने भन्दै माइतीमै छाडेर गएपछि यतिबेला बिट्टु घर न घाटकी भएर वेवारिशे अवस्थामा सडकमै बास बस्ने अवस्थामा पुगेकी छन् । जनयुद्धका कारण देशमा अग्रगामी परिवर्तन भएपनि  अन्तरजातीय बिबाह गर्ने धेरैजसो जोडीको यस्तो हरिविजोग भएको देखिन्छ ।

नावालक छोरी संग भक्कानिदै ६७ बर्षिय उजिलाल ।

युद्धमा हुँदा अन्तरजातीय सम्बन्ध कुनै पनि कुराको बाधक नभएपनि शान्ति प्रक्रिया पछी घर वा समाजले अन्तरजातीय सम्बन्ध स्वीकार नगर्ने भन्दै माइतीमा दुई छोरी सहित छाडिएकी बिट्टुका छोरीहरु प्राची तामाङ १३ र प्रमिला तामाङ ११ ले बाबुआमाले गरेको अन्तरजातीय बिबाहको सजाए काटिरहेकाछन् ।

समाज रुपान्तरणको सुनौलो सपना बोकेर कहिले भोकै र कहिले प्यासै नाच्दै गाउँदै जनता जगाउँदै हिडेकी यी महिलाका लागि सडक नै बास बनेको छ । अहिले आफुसँग सानो दुधे बालक भएको यी महिला  त्यहि बालक संगै वेवारिशे अवस्थामा हिड्ने र सडकमै सुत्दै आएको स्थानीय बताउछन ।

आर्थिक कमजोरीले श्रीमतीलाई सडकमै छोड्न बाध्य छन् ६७ बर्षीय वृद्ध 

संगै बाँच्ने संगै मर्ने कसम खाएर बिबाह गरेका श्रीमानले माइती घरमै अलपत्र अवस्थामा छाडेर गएपछि मानसिक तनावमा भएकी ३२ बर्षीय बिट्टुले आफ्ना श्रीमानको माया कहिल्यै पाउन सकिनन् । आफु तल्लो जातिकी भएकाले श्रीमानले छोडेर गएपछि मानसिक सन्तुलन गुमाएकी बिट्टुको माइतीमा वृद्द बुबाले मानसिक अस्पताल लगेर उपचार गरे । उनलाई केहि बिशेष सन्चो भएपछी उनको भविष्यका लागि भन्दै गाउँकै एक वृद्द उजिलाल नेपाली ६७ संग उनका बुबाले बिबाह गरिदिए ।

तर ती वृद्ध संगको बिबाह पछी पनि बिट्टुको स्वास्थ्यमा समस्या आउन छाडेन । कहिले सन्चो कहिले बिसन्चो भएर बसेकी बिट्टुको कोखबाट २ बर्षको अन्तरालमा दुई छोरी मिनाक्षी बिक ३ र राधा बिक १ जन्मिए ।

यता लगातार छोरीको जन्म र उता मानसिक तनावका कारण फेरी बिट्टुले मानसिक सन्तुलन गुमाइन अनि आफ्नो दुधे बालकलाई च्यापेर डुल्न थालिन गल्ली गल्ली । आफु संग उपचार गर्ने आर्थिक श्रोत नभएकाले उपचार गर्न नसकेको भन्दै तीन बर्षीया छोरी मिनाक्षी बिकलाई काखमा लिएर एक्लै बसेका छन् ६७ बर्षीय उजिलाल । रोल्पा जिल्लाबाट धेरै ठुलो पदमा पुगेका धेरै नेताहरु भएको भन्दै कोहि न कोहि आफ्नो घरमा भगवान बनेर आउने र श्रीमतीको उपचार गरिदिने आशामा बसेको उजलालाको भनाइ छ ।

समाज परिवर्तनका लागि जीवन नै हत्केलामा राखेर युद्धमा होमिएकी यी युवतीको मानसिक उपचार गरेर युवती संगै उनका चार जना छोरी र वृद्ध श्रीमानको उद्दार गर्ने सहयोगी हातहरु अगाडी बढुन हाम्रो पनि कामना ।