Indrenionline.com

कर्णाली प्रदेशले शुरु गर्यो विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरण प्रक्रिया

शंकर केसी
सल्यान, २३ भदौ । विद्यालयमा निर्माण गरिएका आइसोलेसन सेन्टर स्थानान्तरणका लागि कर्णाली प्रदेशमा प्रक्रिया शुरु भएको छ ।

सोमबार कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र सल्यानको कपुरकोट गाउँपालिकाले हाल सञ्चालनमा रहेको आइसोलेसन र आइसोलेसन स्थापनाका लागि आवश्यक पर्ने नयाँ ठाउँको अवलोकन गरेका छन् ।

कर्णालीको नाकामा रहेको कपुरकोेटमा सञ्चालन भएको ५० सैयाको आइसोलेसन कसरी स्थानान्तरण गर्न सकिन्छ भन्ने विषयमा स्थलगत अवलोकन गरिएको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थय सेवा महाशाखाका जनस्वास्थ्य अधिकृत करुणा भट्राइले बताइन् ।

सरकारले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन कक्ष हटाउने विषयहरु अघि सारिरहेको बेला कपुरकोट नाकाको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको आइसोलेसन सेन्टरलाई नयाँ ठाउँमा सार्नका लागि अनुगमन गरिएको भट्राइको भनाइ छ ।

गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकरोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेन, गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर, सामाजिक विकास मन्त्रालय कर्णालीका मानव संशाधन विकास स्वास्थ्य तालिम केन्द्रका प्रमुख एकराज चन्द, जनस्वास्थ्य अधिकृत करुणा भट्राई, कपुरकोटका स्वास्थ्य संयोजक अरुण दाहाल, कोभिड–१९ कपुरकोटका फोकल पर्सन देवेन्द्रकुमार सेन लगायतको टोलीले नयाँ ठाउँमा आइसोलेसन सेन्टर निर्माणका लागि कपुरकोट ३ स्थित क्याम्पस भवन रहेको स्थानको अवलोकन गरेको हो ।

सो स्थान आइसोलेसन सेन्टर बनाउन उपयुक्त रहेको गाउँपालिका अध्यक्ष सेनले बताए । हाल सञ्चालनमा रहेको आइसोलेसन र नयाँ ठाउँको अवलोकन पश्चात रिपोर्ट तयार गरेर मन्त्रालयमा पेश गरिने जनस्वास्थय अधिकृत भट्राइले बताइन् । कर्णालीमा अधिकांश क्वारेन्टाइन र आइसोलेसन विद्यालयमा नै रहेका छन् । यसकारले गत साउनमै विद्यालयमा रहेका क्वारेन्टिन र आइसोलेसन कक्ष हटाउने निर्णय गरेको थियो ।