काठमाडौं, २२ भदौ । सरकारले समयमा रसायनिक मल नल्याउन दुई ओटा ठेकेदार कम्पनीको ठेक्का खारेज गरेको छ । धान रोप्ने वेलामा युरिया मल ल्याउने सम्झौता गरेका ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले धान गोड्ने वेलासम्म मल नल्याएपछि सम्झौता खारेज गरिएको हो ।
कृषि सामग्री कम्पनीका अनुसार कुल अनुमानित रकमको पाँच प्रतिशत जमानतबापत राख्नुपर्ने प्रावधान छ । कृषि सामग्रीका प्रवक्ता विष्णु पोख्रेलका अनुसार होनिकोले तीन लाख ८७ हजार तीन सय ७५ डलर र शैलुङले चार लाख चार सय दुई डलर जमानतबापत जम्मा गराएका थिए । एक डलरबराबर औसतमा १२० रुपैयाँले गणना गर्ने हो भने दुवै कम्पनीबाट नौ करोड ४५ लाख रुपैयाँ जफत भएको छ ।
दुवै कम्पनीले २५/२५ हजार टन युरिया आयातका लागि कृषि सामग्री कम्पनीबाट गत फागुनमै ठेक्का पाएका थिए । उनीहरूले २० भदौसम्म सबै युरिया आयात गर्ने सम्झौता गरे पनि एक बोरा मल नल्याएर धानखेती गरेका किसानलाई चरम दुःख दिएका छन् ।
दुवै कम्पनीले समय थप गर्न निवेदन दिए पनि मलको हाहाकार बनाएर सरकारी निकायलाई नै अप्ठ्यारो स्थितिमा पु¥याएको निष्कर्षसहित कारबाहीस्वरूप सम्झौता खारेज गरी जमानत रकमसमेत जफत गरिएको कृषि सामग्रीले जनाएको छ । ती दुई कम्पनीलाई कालोसूचीसमेत राखिने भएको छ ।