Indrenionline.com

नेपालमा आज थप ९८० जनामा कोरोना संक्रमण पुष्टि, थप नौ जनाको मृत्यु, मर्नेको संख्या २८९ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, २१ भदौ । नेपालमा आज आइतवार थप ९८० जनामा कोरोना संक्रमण देखिएको छ । विगत २४ घण्टामा १० हजार ३८२ पीसीआर परीक्षण गर्दा ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतवार आयोजित नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २९० महिला र ६९० जना पुरुष गरी ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ ।

विगत २४ घण्टामा थप नौ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना महिला छन् भने सात जना पुरुष रहेको मन्त्रालयले जनाएको छ ।  योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २८९ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल होम आइसोलेशनमा ७ हजार ८२६ जना रहेका छन् । यसैगरी हाल १७ हजार २७ जना सक्रिया संक्रमित रहेका छन् । हालसम्म कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ । नेपालमा हालसम्म २८ हजार ९४१ जना कोरोना संक्रमित डिस्चार्ज भई घर फर्किएका छन् ।आइतवारमात्रै थप १ हजार ८१४ जना डिस्चार्ज भएका छन् ।