भक्तपुर,२९ असार । सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–१४ र ११ मा रहेको ५६३ रोपनी सार्वजनिक जग्गामा अत्याधुनिक वीर अस्पताल बनाउने तयारी गरेको छ । त्यस क्षेत्रको निरीक्षण आज गर्दै अर्थमन्त्री विष्णु पौडेलले उक्त जग्गा अस्पतालका लागि उपयुक्त भएकाले यही जग्गामा वीर अस्पताल बनाउन आवश्यक प्रक्रिया अगाडि बढाउन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गणेशमान गुरुङलाई निर्देशन दिए ।
एमाले चाँगुनारायण नगर कमिटीका अध्यक्ष रमेश बुढाथोकीको नेतृत्वबमे टोलीले गत असार ९ गते बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई चाँगुनारायण नगरपालिकामा वीर अस्पताल निर्माणका लागि आवश्यक उपयुक्त जग्गा रहेको जानकारी गराउँदै उक्त जग्गामा अस्पताल बनाउन आग्रहसहितको पत्र बुझाएको बुढाथोकीले जानकारी दिए ।
जग्गाको निरीक्षण गर्न चाँगु पुग्नुभएका मन्त्री पौडेलसमेतको टोलीलाई आज स्थानीयले स्वागत गर्दै सोही क्षेत्रमा अस्पताल निर्माण गर्नुपर्ने माग राखेका थिए ।
–रातोपाटी बाट