Indrenionline.com

एकैदिन थपिए १२२८ कोरोना संक्रमित, मर्नेको संख्या २५७ पुग्यो

इन्द्रेणी संवाददाता
काठमाडौं, १८ भदौ । नेपालमा आज बिहीवार थप १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा १३ हजार ४१३ ओटा नमूना परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मर्नेको संख्या २५७ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ३५७ जना, भक्तपुर जिल्लामा ४२ जना र ललितपुर जिल्लामा ४६ जना कोरोना संक्रमित थपिएका छन् ।

हाल सक्रिय संक्रमित १८ हजार ४१३ जना रहेका छन् भने होम आईसोलेशनमा ७ हजार ७४२ जना रहेका छन् । प्रवक्ता गौतमले पछिल्लो २४ घण्टामा ९१७ जना डिस्चार्ज भएको बताए । योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ ।