इन्द्रेणी संवाददाता
काठमाडौं, १७ भदौ । नेपालमा आज एक हजार १२० जनामा कोरोना संक्रमण देखिएको छ । थप ३२० महिलासहित ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ११२ जना निको भएर घर फर्केका छन् । योसँगै कुल डिस्चार्ज भएकाहरू २३ हजार २९० पुगेको छ । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टाको अवधिमा काठमाडौं जिल्लामा ३५०, भक्तपुर जिल्लामा ९ र ललितपुर जिल्लामा २९ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।