काठमाडौं, १७ भदौ । नेपाल र बङ्गलादेशबीच कोरोना भाइरस ९कोभिड–१९० को अहिलेको सङ्कटको समयमा पनि सहकार्य बलियो बनाएर अगाडि बढ्ने सहमति भएको छ ।
प्रधानमन्त्री ओली र वाजेदबीच भएको टेलिफोन वार्तामा दुई देश बीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले हामीले दुई देशबीच व्यापार, ऊर्जा, पारवहन लगायत अन्य आवश्यकीय क्षेत्रलाई प्राथमिकता दिँदै सहकार्य वृद्धि गर्ने विषयमा जोड दियौँ भन्दै टेलिफोन वार्तामा भएका कुराकानीबारे उल्लेख गरेका छन् ।
विद्युत् उत्पादनमा सहयोग, ग्रिड कनेक्टिभिटी र नेपालबाट बङ्गलादेशलाई बिजुली आपूर्ति गर्नका साथै दुई देशबीच अवरोधरहित सन्तुलित व्यापारको प्रवद्र्धन, बङ्गलादेशको पारवहन सुविधामा सुधार, पर्यटन प्रवद्र्धन र अन्य विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री ओलीले रोहनपुर हुँदै बङ्गलादेश पुग्ने रेल्वे मार्ग विस्तार गर्न अनुमति दिएकोमा धन्यवाद व्यक्त गरे ।
वार्ता फलदायी रहेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले नेपालको कृषि बालीका लागि अत्यावश्यक वस्तुका रूपमा रहेको युरिया मल पठाउन नेपालले गरेको आग्रहलाई सकारात्मक रूपमा लिएको बताए । साथै यस विषयमा बङ्गलादेशले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
नेपालमा भइरहेको कोरोना नियन्त्रणको प्रयास प्रभावकारी रहेको भन्दै बङ्गलादेशका प्रधानमन्त्री हसिनाले प्रशंसा गरे। उनले बङ्गलादेशको कृषि क्षेत्रको सफलताको कथाबाट फाइदा लिनसक्ने औँल्याए । वार्ताका क्रममा पछि फिर्ता गर्ने शर्तका आधारमा ५० हजार टन युरिया मल पठाउन सहमति भएको छ । मल ढिला आउँदा नेपालको धान बालीलाई प्रतिकूल असर परिरहेको बेला नेपालका लागि यो ठूलो सहयोग हुनेछ ।
भारत लगायत सार्क मुलुकबाट आउने गरेको युरियासहित मलको आयात यसपटक कोरोना सङ्कटका कारण प्रभावित बनिरहेको छ । यसका कारण प्रधानमन्त्री ओलीले फोन गरेरै मित्रराष्ट्र बङ्गलादेशलाई तत्काल मल पठाइदिन आग्रह गरेका हुन् । गोरखापत्रबाट