जुम्ला, १५ भदौ । जुम्लामा यो वर्ष स्याउ नफलेपछि किसान चिन्तित भएका छन् । स्याउको फूल तुषारोले खाएपछि यो वर्ष फल नलागेर उत्पादनमा कमी आउने चिन्ताले किसानलाई सताएको हो ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ फलेको जुम्लामा यो वर्ष उत्पादनमा ५० प्रतिशत कमी आउने अनुमान गरिएको छ । कृषि विकास कार्यालयका अनुुसार जुम्लामा १६ हजार घरपरिवारले स्याउ खेती गर्दै आएका छन् । स्याउ रोपेको जमीनमा अन्य अन्न उत्पादन हुँदैन ।
‘यस पटक न किसानसँग स्याउ छ, न त खाने अन्न’, स्थानीयवासी गोपीचन्द बुढाले भने, ‘असिना पानी, खडेरी र कालो तुषारोले स्याउ सखाप पारेको छ ।’
यो वर्ष स्याउ प्रतिकेजी रू. ४०/५० मा विक्री भइरहेको छ । किसानले यसअघि प्रतिकेजी रू. ३५ खरीदविक्री गर्दै आएका थिए । यहाँको स्याउ देशका मुख्य सहरमा पठाउने समयमा निषेधाज्ञाले समस्या उत्पन्न गरेको स्थानीयवासी नर रावतले बताए ।
कोरोना महामारीले गर्दा यो वर्ष जुम्ला सदरमुकाम खलङ्गामा डोकोमा स्याउ बेच्न आउने किसानको घुइँचो देखिएको छैन । स्याउ उत्पादन घट्नु र कोरोना भाइरस रोकथामका लागि जारी निषेधाज्ञा नै यसको प्रमुख कारण भएको स्थानीवासीको भनाइ छ ।
जुम्लाको कुल खेतीयोग्य ३९ हजार ४३५ हेक्टर जग्गामध्ये ३ हजार ७०० हेक्टरमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस