काठमाडौं, १५ भदौ। देशका विभिन्न जिल्लामा रहेका ७१ कारागारमध्ये सात वटा कारागारमा रहेका कैदी बन्दीमा कोरोना संक्रमण देखिएको छ ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी देवर्षि सापकोटाले देशभरका ७१ कारागारमध्ये सात वटामा संक्रमण देखिएको बताए । उनका अनुसार ती सात कारागारमा रहेका कैदी बन्दी, सुरक्षाकर्मी र कर्मचारीमध्ये ६ सय ५८ जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको थियो । आइतबार थप भएका ३५ कैदीबन्दीसहित सो संख्या १ सय ६६ पुगेको छ ।
आइतबार साँझ केन्द्रीय कारागारमा थप भएका ३५ जना कैदी बन्दीसहित संक्रमित कैदी बन्दीको संख्या देशभर ७२ बाट बढेर १ सय ७ पुगेको छ । यसबाहेक कारागार सुरक्षामा खटिएका ५२ सुरक्षाकर्मी र सात कर्मचारीमा समेत हालसम्म संक्रमण पुष्टि भइसकेको छ ।
त्यसमध्ये हालसम्म ४८ जना कैदी बन्दी उपचारपछि संक्रमण मुक्त भइसकेका छन् भने अन्य कैदीबन्दी विभिन्न स्थानमा रहेका कोभिड अस्पतालहरूमा उपचाररत छन् । यसैगरी १८ जना सुरक्षाकर्मी निको भइसकेका छन् भने ३४ जना उपचाररत छन् । यस्तै, सात कर्मचारीमध्ये ६ जना निको भइसकेका छन् भने एक जना उपचाररत छन् ।
कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सापकोटाले कारागारमा रहेका कैदी बन्दीसहित सुरक्षाकर्मी र कर्मचारीलाई कैदीबन्दीलाई अस्पताल वा अदालत लैजाँदा संक्रमण सरेको हुन सक्ने बताए राजधानीमा खबर छ। ‘कारागार आफैंमा आइसोलेसन हो, त्यहाँभित्र बाहिरका व्यक्तिसँगको भेटघाट बन्द छ, अदालत वा अस्पताल लाँदा–ल्याउँदा संक्रमण सरेको हुन सक्छ, कताबाट फैलियो भन्ने थाहा छैन,’ सापकोटाले राजधानीसँग भने ।
देशभरका कारागारमा हाल २४ हजार १ सय ६३ कैदी बन्दी छन् । तर, देशभर १६ हजार कैदी बन्दी मात्रै राख्न सक्ने क्षमता छ । कतिपय स्थानका कारागारमा क्षमताभन्दा बढी कैदी बन्दी राखिएका छन् । कारागार प्रशासनले कारागारभित्र कैदी बन्दीहरूलाई सामाजिक दुरी कायम गरेर राख्नै समस्या भएको बताउँदै आएको छ ।