रुपन्देही, ११ भदौ। प्रदेश नं ५ सरकारले लघु घरेलु तथा साना उद्योगको दर्ता निःशुल्क गर्ने भएको छ । मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले आर्थिक वर्ष २०७७ ७८ मा उद्योगको दर्ता दस्तुरमा पूर्ण छूट दिने निर्णय गरेको बैठकपछि मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।
बैठकले आन्तरिक मामिला तथा कानूून मन्त्रालय, प्रदेश लोकसेवा आयोग, प्रदेश योजना आयोग र प्रदेश पूर्वाधार विकास प्राधिकरणको संगठन संरचना तथा अस्थायी दरबन्दीका लागि स्वीकृति प्रदान गरेको छ ।
सल्लाहकार केसीका अनुसार मन्त्रिपरिषद्को बैठकले कानूून मस्यौदा कार्यदलको म्याद गत साउन १ गतेदेखि आगामी पुस मसान्तसम्म छ महीना थप गर्ने पनि निर्णय गरेको छ ।
कार्यदलका संयोजकमा मुख्य न्यायाधिवक्ता, आन्तरिक मामिला मन्त्रालयको कानूून महाशाखा प्रमुख सदस्य र विज्ञ सदस्य खुमाकान्त पौडेल रहेका छन् । बैठकले प्रदेश विपद् व्यवस्थापन कार्यसञ्चालन निर्देशिकाको पहिलो संशोधनलाई स्वीकृत गरेको छ । रासस
