Indrenionline.com

आज एकैदिन थपिए ११११ कोरोना संक्रमित

इन्द्रेणी संवाददाता
काठमाडौं, ११ भदौ । नेपालमा आज विहीबार थप एक हजार १११ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा ५६९ जना कोरोना जितेर घर फर्किएका छन् ।

आज उपत्यकामा मात्रै ३७७ जना कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौं जिल्लामा २७० जना, ललितपुरमा ६६ जना र भक्तपुरमा ४१ जना छन् ।

कुल पीसीआर परीक्षण संख्या ६ लाख ४७ हजार ८८१ पुगेको छ भने हाल क्वारेन्टाइनमा ९ हजार ४८८ जना रहेका छन् । त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

यस्तै हाल सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ भने ५०० भन्दा बढी संक्रमित हुने जिल्लामा बिहीवार ललितपुर पनि थपिएको छ ।