Indrenionline.com

निजी स्कूलमा छोराछोरी पढाउने सरकारी शिक्षकलाई जरिवाना

दैलेख, ११ भदौ । कतै तपाइँले सरकारी विद्यालयमा जागिर आएर आफ्ना छोराछोरीलाई संस्थागत (निजी) स्कूलमा त पढाउदै हुनुहुदैन ? होसियार हुनुहोस् जरिवानामा पर्नुहोला नि ! दैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोराछोरी पढाउने सरकारी विद्यालयका शिक्षकलाई १० हजार जरिवाना गरेको छ ।

गाउँपालिकाले ३० जना शिक्षकलाई पत्र पठाएर जरिवाना गरेको जानकारीसमेत दिएको छ । गाउँपालिकाभरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रूपमा आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने, त्यसो नगरे जरिवाना तिर्नुपर्ने नीति गत आर्थिक वर्षको गाउँसभाबाटै पारित गरिएको थियो ।

शिक्षकहरूलाई पठाएको पत्रमा गाउँपालिकाको नीति उल्लंघन गरेकाले जरिवाना गरिएको जनाएको छ । उनीहरूलाई १० हजार रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । सरकारी कर्मचारीका छोरोछोरीलाई सरकारी विद्यालयमै पढाउने नीति बनाउँदा सहमति जनाएको र अहिले आएर पालना नगरेकाले जरिवाना गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले बताए ।