Indrenionline.com

कोरोना अस्पताल बुटवलमा दुई जनाको मृत्यु

बुटवल, ७ भदौ । बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीका दुई जनाको ज्यान गएको छ । कोरोना अस्पतालमा कोरोना सङ्क्रमित एक जना महिला र एक जना पुरुषको ज्यान गएको हो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार बुटवल उपमहानगरपालिका १ की ६७ वर्षीया महिला र सम्मरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुषको ज्यान गएको हो ।

मिर्गौला रोग, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या रहेकी ती महिलामा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सम्मरीमाईका पुरुषमा श्वासप्रश्वासको समस्या आएपछि भदौ १ कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उनीमा पनि कोरोना पुष्टि भइसकेको थियो ।
योसँगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।