Indrenionline.com

प्यूठानमा बन्दाबन्दीको अवधिमा ३० जनाले गरे आत्महत्या

राजेश जीसी
प्यूठान, २६ साउन । प्यूठानमा आत्महत्याका घटना बढ्दै आएको छ । केही बर्षयता प्यूठानमा बर्षेर्नी आत्महत्या गर्नेको संख्या बढ्दै गएको हो ।

प्यूठानमा लकडाउनका समयमा मात्रै ३० जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ । लकडाउनको अबधिमा २७ जना झुण्डिएर र ३ जनाले बिष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

प्यूठानमा आर्थिक वर्ष २०७६÷०७७ मा ६२ जनाले आत्महत्या गरेका छन् । २०७५/०७६ मा ६३ र ०७४/०७५ मा ५९ जनाले आत्महत्या गरेको प्रहरीको त्रिवर्षीय तथ्याङ्क छ । प्रहरीले आत्महत्याको घटना बढेपछि त्यसको रोकथामका लागि जनचेतनामुलक कार्यक्रम समेत गर्दै आएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।

जिल्लामा आत्महत्या हुनेको मुख्य कारण सानै उमेरमा प्रेम गर्ने, अन्तरजातीय तथा अनमेल विवाह, घरेलु हिंसा, युवाहरुमा बेरोजगारी समस्या, बढ्दो प्रविधिसँगै आएको विकृतीले गर्दा आत्महत्याका घटनाहरु बढ्दै गएको उनको भनाइ छ ।