काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट शुक्रबार मात्रै नेपालमा थप पाँच जनाको निधन भएको छ।
पछिल्लो समय नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिनुका साथै यसबाट निधन हुनेको संख्या पनि ह्वात्तै बढेको छ।
शुक्रबार मात्रै पाटन अस्पतालमा २ जना, विराटनगरको कोशी अस्पताल, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १/१ जनाको मृत्यु भएको हो।
पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार बिहान मृत्यु भएको थियो।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने सिराहाको गोलबजार नगरपालिका–१२ का २१ वर्षीय युवकको निधन भएको हो। मिर्गौला रोगी उनी डायलासिस सेवा लिन धरान पुगेका थिए। केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका उनको बिहीबार राती नै निधन भएको थियो।
उता कोशी अस्पतालको आइसोलेसन कक्षमा उपचाररत विराटनगर महानगरपालिका– ९ का ५८ वर्षका पुरुषको भने मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार विहान मृत्यु भएका उनको दिउँसो कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। एक सातादेखि ज्वरो र खोकीको समस्या देखिएको उनमा उच्च रक्तचापको समस्या रहेको थियो।
त्यस्तै, वीरगञ्ज–३ छपकैयाका ६५ वर्षका वृद्धको पनि शुक्रबार नै वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष अस्पतालमा निधन भएको छ। उनको पनि मृत्युपछि मात्रै कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
आइसीयू र भेन्टिलेटरमा ६४ जना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारसम्म देशभरी आईसीयू तथा भेन्टिलेटरमा ६४ जना कोरोना संक्रमितको उपचार भइरहेको जनाएको छ।
मन्त्रालयको तथ्यांकअनुसार प्रदेश १ मा १, प्रदेश २ मा ३२, वाग्मती प्रदेशमा २६ र प्रदेश ५ मा २ जना संक्रमितको सघन उपचार भइरहेको छ। त्यसैगरी वाग्मती प्रदेशमा भने ३ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन्।
गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा भने कुनै पनि संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छैनन्।
