काठमाडौं, २२ साउन । कोरोना संक्रमण बढ्दै गर्दा सरकारी कार्यालयको सेवा प्रभावित हुन थालेको छ । सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मका कर्मचारीमा संक्रमण देखिएको छ । जोखिम बढेकाले कतिपय कार्यालय नै बन्द भएका छन् भने कतै सेवा कटौती गरिएको छ ।
लकडाउन खुलेसँगै सरकारी कार्यालयमा अत्यधिक भिड बढेको छ । त्यससँगै कर्मचारी र सुरक्षाकर्मीमा संक्रमण बढ्न थालेको छ । बुधबार वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र उनकी पत्नीसहित १६ जनामा संक्रमण पुष्टि भएको छ । वीरगन्जका मेयर विजय सरावगी कोभिड–१९ उपचारमै छन् । महानगरको सेवा बन्द हुने अवस्थामा छ । यस्तै, पर्सा जिल्ला कारागार प्रमुखको रिपोर्ट पनि पोजिटिभ आएको छ ।
सिंहदरबारमा कडाइ, गृहमा प्रहरीलाई रोक
संक्रमण बढ्न थालेपछि सिंहदरबार प्रवेशमा कडाइ गरिएको छ । थप कर्मचारीमा संक्रमण बढ्ने जोखिमका कारण गृह मन्त्रालयले बुधबारदेखि कडाइ थालेको हो । भिड नरोकिएपछि कडाइ गर्नुपरेको गृह प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । उनका अनुसार अत्यावश्यक कामबाहेकका सेवाग्राहीलाई सिंहदरबार प्रवेश पनि रोकिएको छ । मन्त्रालय आउने प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीलाई गेटबाटै फर्काउन थालिएको छ ।
प्रहरी मुख्यालयका ७५ जना संक्रमित
काठमाडौं नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत ७५ जनामा संक्रमण देखिएको छ । तीमध्ये बढी सवारी तथा एमटी शाखामा कार्यरत प्रहरी छन् । एक सातायता प्रहरी प्रधान कार्यालयमा बाहिरका व्यक्तिको प्रवेश रोकिएको छ । सकेसम्म थोरै प्रहरीबाट मुख्यालयको काम सञ्चालनमा छ ।
बुधबारसम्म देशभर दुई सय ९९ जनामा संक्रमण देखिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायत बताउँछन् । तीमध्ये एक सय ९० जना उपचाररत छन् । ‘अहिले नै सेवा प्रवाहमा समस्या आइसकेको छैन,’ उनी भन्छन्, ‘ठूलो संख्यामा संक्रमण देखियो भने समस्या आउन सक्छ ।’ उनका अनुसार ठूलो संख्यामा प्रहरी बस्ने गणहरूमा परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
भिड नियन्त्रण नहुँदा लाइसेन्स वितरण बन्द
लकडाउन खुलेसँगै यातायात व्यवस्था कार्यालयहरूमा सेवाग्राहीको भिड लाग्यो । भिड नियन्त्रण गर्न नसकेपछि उपत्यकाका सबै यातायात कार्यालयले लाइसेन्स वितरण रोकेका छन् । नयाँ पत्रिकाबाट