प्यूठान, १६ साउन । कोरोना भाइरसका कारण पर्याप्त रासायनिक मलको आपूर्ति नहुँदा प्यूठानका मलको अभाव सिर्जना भएको छ । कृषकहरुको माग अनुसार सरकारले रासायनिक मल ९युरिया०को आपूर्ति गर्न नसक्दा अभाव भएको हो ।
खेतीपाती गर्न समयमा मलको अभाव हुनु नेपालका कुनै नौलो समस्या नभएको किसानहरुले बताएका छन् । जिल्लामा सहकारी संस्थाले रासायनिक मलको व्यवस्थापन गर्दै आएका छन् । तर अहिले सहकारीले मल व्यवस्थापन पनि चासो नदिएको किसानले गुनासो गरेका छन् । धानको उत्पादकत्व बढाउन रासायनिक मलको प्रयोग गर्न गरिन्छ तर यस वर्ष मलको अभाव हुँदा उत्पादनमा कमी आउने किसानले बताएका छन् ।
धान गोडमेल गर्न समयमै बजारमा युरिया मल नपाएको झिमरुक गाउँपालिका ४ का किसान तिलक केसीले बताए । ‘मल आपूर्ति गर्दै आएको सहकारीमा युरिया नै छैन’ उनले भने, ‘मल राख्न नपाउँदा उत्पादनमा ह्रास आउने भयो ।’ सरकारी अनुदानको मल अभाव हुँदा बजारबाट बढि मूल्य तिरेर खरीद गर्न किसान बाध्य भएका छन् । उता जिल्लामा रासायनिक मलको व्यवस्थापन गर्दै आएको सहकारीले भने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवामै मल नभएको बताएका छन् ।
जिल्लाका यो समय करीब एक सय टन युरिया आवश्यक पर्छ । ‘कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन भैरहवाबाट मल आएको छैन’ उनले भने । पछिल्लो समय जिल्लामा कम्पोष्ट मलभन्दा रासायनिक मलको प्रयोग बढ्दै गएको छ ।