काठमाडौं, १५ साउन । निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा मुछिएका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टले सफाइ पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले आज एसपी विष्टसहित काण्डमा तानिएका ८ जनालाई सफाइ दिएको हो ।
यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर सेठीले सफाइ पाएका हुन् । प्रहरीहरू चाँदनी साउद, जगदीशप्रसाद भट्ट, रामसिंह धामी र हरिसिंह धामीले पनि सार्वजनिक न्यायविरुद्धको कसूर गरेको अभियोगबाट सफाइ पाएका छन् ।
निर्मला पन्तको बलात्कार र हत्या आरोपीको रुपमा प्रहरीले सार्वजनिक गरेका खड्कसिंह विष्टले चारजना प्रहरीविरुद्ध यातना दिएको भन्दै जाहेरी दिएका थिए । त्यस्तै मृतक निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आठ जना प्रहरी अधिकारीविरुद्ध सार्वजनिक न्यायविरुद्धको कसूरमा जाहेरी दिएकी थिइन् ।
दुई वर्षअघि १३ वर्षीय निर्मला पन्तको बलत्कारपछि हत्या गरेर उखुवारीमा शव फेला परेका थियो । तर बलात्कारपछि हत्यामा संलग्न व्यक्ति भने अझै पक्राउ पर्न सकेका छैनन् ।