Indrenionline.com

रुकुम पश्चिमका ५४ वडा बाढीपहिरोको उच्च जोखिममा

रुकुम, १४ साउन । रुकुम पश्चिमका ५४ ओटा वडा बाढीपहिरोको उच्च जोखिममा परेका छन् । रुकुम पश्चिमका ६ ओटा स्थानीय तहका ७३ ओटा वडामध्ये ५४ ओटा वडा बाढीपहिरोको उच्च जोखिममा परेका हुन् ।

सानीभेरीमा ११, त्रिवेणीमा १०, आठबीसकोटका १२, चौरजहारीमा ८, मुसीकोटका ८ र बाँफिकोटमा ५ ओटा वडा जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए ।

मुसीकोट नगरपालिकाका चौखाबाङ, स्यालापाखा, बोहरागाउँ, चौरजहारीको खहरेपिपल, कालीखोला, लहरेसिमल, लिउरेबारी तथा आठबीसकोटको खारखारा, झिन्चौर, गैरीचोक, घोरला, धारापानीलगायत गाउँ पहिरोको उच्च जोखिममा रहेको पौड्यालले बताए ।

उनका अनुसार बाँफिकोटको दुली, झुला, छिन्खेत, पुमाखोला, सानीभेरीको पूर्तिमकाँडा, बैरेनीतरा, तुस्रेबगर तथा त्रिवेणी गाउँपालिकाका बल्लेजुरा, खाल्टिखोला, बाँदरपानी र सिम्र्रतु बजारलाई जोखिमको सूचीमा राखिएको छ अभियानमा खबर छ।

यी क्षेत्रमा कुनै पनि बेला विपद्का घटना हुन सक्ने भन्दै सबैतिर पूर्वतयारी थालिएको छ । आवश्यक स्रोतसाधनको विवरण संकलन गर्ने र सम्भावित क्षेत्रमा पठाउने काम थालिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।