Indrenionline.com

प्यूठानमा ट्राफिक नियम उलंघन गर्ने ६४७१ सवारीसाधन कारवाहीमा, साढे ३६ लाख राजस्व संकलन

राजेश जीसी
प्यूठान, १३ साउन । जिल्ला ट्राफिक प्रहकाररी कार्यालय प्यूठानले ट्राफिक नियम उलंघन गर्ने सावारी साधनलाई कारवाही गर्दा साढे ३६ लाख राजस्व संकलन भएको छ ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा ट्राफिक नियम उलंघन गर्ने सावारी साधनलाई कारवाही गर्दा ३६ लाख ४८ हजार ५०० राजस्व संकलन भएको हो । एक वर्षको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने ६ हजार ४७१ सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक प्रवीण आचार्य जानकारी दिएका छन् ।

उनका अनुसार कारबाहीमा पर्नेहरुमा सबैभन्दा बढी २ हजार ५८१ मोटरसाइकल रहेका छन् । जसबाट १५ लाख २८ हजार राजस्व असुली भएको छ । त्यसैगरी ७१६ वटा बसबाट ३ लाख ९२ हजार, ५५२ ट्रक÷टिपरबाट ३ लाख १७ हजार राजस्व संकलन भएको छ ।
त्यस्तै १ हजार ८९३ वटा जिप, कार र भ्यान कारबाहीबाट १० लाख ४ हजार असुल गरेको छ भने ५५५ ओटा ट्याक्टरलाई कारबाहीबाट ३ लाख ५ हजार ५०० राजस्व असुल भएको छ ।

अन्य शीर्षकका १७४ ओटा सवारीसाधनलाई गरिएको कारबाहीबाट १ लाख १ हजार ५०० संकलन गरेको छ । प्रहरीले गत आर्थिक वर्षमा चालक अनुमतिपत्र र ब्लूबुकबिना सवारीसाधन चलाउने, बिनाहेल्मेट मोटरसाइकल कुदाउने, अस्पष्ट सवारी नम्बर प्लेट राख्ने, नियम विपरीत सवारी चलाउने सबै सवारी चालकलाई कारबाहीको दायरामा ल्याइएको प्रमुख आचार्यले बताए ।

यसभन्दा अघिल्लो आर्थिक वर्षमा ६ हजार ४७५ सवारी कारबाहीमा परेका थिए । जसबाट ३५ लाख ७ हजार राजस्व संकलन भएको थियो ।

सचेतनाको अभियानमा ट्राफिक प्रहरी
जिल्लामा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सचेतनाको कार्यक्रम सञ्चालन गर्दै आएको बताएको छ । प्रहरी नायव निरीक्षक आचार्यका अनुसार ट्राफिक प्रहरीले विद्यालयमा अध्ययनरत विद्यार्थी, चालक, परिचालक, व्यवसायी, पैदलयात्रीलाई ट्राफिक सचेतनाको गतिविधि सञ्चालन गर्दै आएको छ ।

लकडाउनले गर्दा धेरै गतिविधिहरू यस वर्ष गर्न नसकिए पनि चालक तथा यात्रुलाई मास्कको प्रयोग गर्न, सुरक्षित यात्राका लागि सचेत बनाउने काम भने जारी राखेको उनको भनाइ छ । लकडाउन खुलेसँगै पुनः चालक, सहचालकलाई मास्कको प्रयोग, सुरक्षित भौतिक दूरीको व्यवस्था, स्यानिटाइजरको व्यवस्थापन लगायत विषयमा अभियान थाल्न लागिएको उनले जानकारी दिए ।

जिल्लामा ९ जना ट्राफिक प्रहरीको दरबन्दी अहिले पूरा भएको छ । जिल्लाको देवीस्थान ट्राफिक प्रहरी कार्यालयसँगै खलंगा, बाग्दुला, बिजुवार, भिंग्री र दरभानमा ट्राफिक प्रहरीको व्यवस्था मिलाइएको छ ।

दुर्घटनामा १४ जनाको मृत्यु
सवारी दुर्घटनामा परी एक वर्षमा १४ जनाको मृत्यु भएको छ । वर्षभरी २२ ओटा सवारी दुर्घटना भएका छन् । ८ जना पुरुष, ३ जना महिला २ जना बालक र १ जना बालिकाको दुर्घटनामा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अघिल्लो आर्थिक वर्षमा पनि सवारी दुर्घटनाबाट १४ जनाको ज्यान गएको थियो भने १२ जना गम्भीर र १५ जना सामान्य घाइते भएका थिए ।