काठमाडौं, १३ साउन । चरम शक्ति–संघर्षको व्यवस्थापनका लागि सहमति जुटाउने एक महिनाको असफल गृहकार्यपछि नेकपा विवाद थप जटिल मोडमा प्रवेश गर्ने सम्भावना बढेको छ । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीको राजीनामा मागेको प्रचण्ड–नेपाल समूह अब पार्टी बैठकबाट एक पद छाड्न निर्देशन दिने निष्कर्षमा पुगेको छ । तर, ओली समूह मंगलबारको बैठक टार्ने रणनीतिमा छ ।
ओली–प्रचण्ड लगातार छलफल हुँदा पनि कुनै सहमति नबनेपछि नेकपाको विवादले नयाँ बाटो समात्न थालेको हो । ओलीले आफू दुवै पदबाट नहट्ने भन्दै हटाएर देखाउन चुनौती दिएका छन् । यस्तो वेला प्रचण्ड–नेपाल समूहको नयाँ रणनीति र ओलीको अडानले नेकपाको अन्तरकहल कहाँसम्म पुग्छ भन्ने अनिश्चितता थपेको छ नयाँ पत्रिकामा खबर छ। एकतर्फी बैठक चलाए पार्टी एकता भंग हुने बुझाइमा रहेको ओली समूह अल्पमत÷बहुमतको नाममा इतर समूह अघि बढ्न खोजे सबै चुनौती सामना गर्ने ‘मुड’मा छ ।
पार्टी एकताको मर्मअनुसार दुई अध्यक्षको सहमतिबाहिर कुनै निर्णय हुन नसक्ने ओली समूहको बुझाइ छ । तर, प्रधानमन्त्रीले पार्टीलाई बेवास्ता गर्दै एकतर्फी रूपमा सरकार चलाएको प्रचण्ड–नेपाल समूहको आरोप छ ।
सोमबार प्रचण्डनिवासमा उनीसहित वरिष्ठ नेता नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले स्थायी कमिटी सदस्यहरू भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, युवराज ज्ञवाली, देव गुरुङ, पम्फा भुसाल, वर्षमान पुन, गिरिराजमणि पोखरेल र जनार्दन शर्मासँग छलफल गरेका थिए ।