राजेश जीसी
प्यूठान १२ साउन । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गत चैत्र ११ गतेदेखि गरेको बन्दाबन्दी साउन ७ गतेबाट खुलेसँगै जिल्लाका सडकहरुमा सवारी साधनको चहल पहल शुरु भएको छ । बन्दाबन्दीका कारण पूर्णरुपमा बन्द भएका बजार, पसल तथा छोटो दूरीका सार्वजनिक यातायात र नीजि सवारीहरु गुड्न थालेपछि सडकमा चहल पहल बढेको हो ।
सांकेतिक तस्विर
सरकारले बन्दाबन्दी हटाएपछि सञ्चालनमा आएका सार्वजनिक सवारी साधनहरुले मनपरी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन् । सरकारले स्वास्थ्य मापदण्ड अन्तर्गत सुरक्षाका सामग्री प्रयोग गर्दै भौतिक दूरी कायम गरी सवारी चलाउनु पर्ने तथा ५० प्रतिशत बढी भाडा उठाउन पाउने नियम बनाएपनि प्यूठानमा सञ्चालनमा आएका सार्वजनिक तथा नीजि सवारी साधनले सो नियम कार्यान्वयन नगरेको यात्रुहरुको गुनासो छ ।
सार्वजनिक सवारी साधनमा क्षमताभन्दा आधा यात्रु बोक्नुपर्ने भएपनि यातायातका साधनले त्यसको समेत पालन गरेका छैनन् । सरकारले ५० प्रतिशत भाडा बढाएर लिन भनेको भएपनि प्यूठानमा चल्ने गाडीहरुले शतप्रतिशत भाडा बढाएर असुल्ने गरेको छन् ।
सार्वजनिक यातायातका साधनले यसअघि ५० रुपैंया भाडा लिने गरेको खलंगा–बाग्दुला सडकखण्डमा अहिले १५० रुपैंयासम्म भाडा लिने गरेका छन् । स्वर्गद्धारी गौमुखी यातायात सेवा प्रा.लि.ले भने सरकारी नियम कार्यान्वय गरेरै सवारी चलाउने निर्णय भएको जानकारी दिएको छ ।
सार्वजनिक सवारी साधनले सरकारको नियम विपरित गरेको सप्रमाण उजुरी आएमा तत्काल कारवाही प्रक्रिया अघि बढाउने उनले बताए । उता प्रहरीले भने अनुगमनलाई प्रभावकारी बनाउने बताएको छ । देशमा कोरोनाको संक्रमण जोखिम टरी नसकेकोले अनुगमनलाई तीव्रता बनाउने प्यूठानमा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले बताए ।