कञ्चनपुर, ११ साउन । १० साउन ०७५ मा कञ्चनपुर भीमदत्त–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भयो । त्यसको भोलिपल्ट भीमदत्त–१८ निम्बुखेडास्थित उखुबारीमा उनको शव फेला पर्यो । तर, प्रहरीको एकपछि अर्को गल्तीले रुमल्लिएको यो हत्या प्रकरणका अभियुक्त अझै फेला परेका छैनन् । बरु थप अनुसन्धान नै ठप्प बनेको छ ।
विष्टतिरै सोझियो अनुसन्धान
प्रहरी स्रोतका अनुसार अहिले मुद्दा खेपिरहेका प्रहरीले औँल्याएका अभियुक्त दिलीपसिंह विष्टकै नजिक पछिल्लो अनुसन्धान पुगेको छ । निर्मलाकी आमाले विष्टविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरमा माघ ०७६ मा बुझायो । सरकारी वकिल कार्यालयले थप अनुसन्धानका लागि प्रहरीलाई १७ बुँदे निर्देशन दिएको थियो । सोहीअनुसार प्रहरीले थप विवरण तयार पारेको छ, जसमा दिलीपले नै निर्मलाको हत्या गरेको पर्याप्त प्रमाण रहेको प्रहरी स्रोत बताउँछ ।
तर, पहिले दिलीपलाई नै पक्राउ गर्दा प्रमाण नष्ट गरेको र यातना दिएको भनेर मुद्दा दायर भएकाले एउटै घटनामा पहिलेको अभियोगसँग बाझिने अर्को मुद्दा चलाउन महान्यायाधिवक्ता कार्यालयले अनुमति नदिएको स्रोत बताउँछ । ‘प्रहरीविरुद्धको मुद्दा अदालतबाट टुंगिएपछि मात्र अब यो मुद्दा प्रक्रिया अगाडि बढ्छ,’ एक उच्च प्रहरी अधिकारीले भने ।
सेवाबाट हटाइएका कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक दिल्लीराज विष्ट र निरीक्षक जगदीश भट्टसहित अवकाशप्राप्त डिएसपी ज्ञानबहादुर सेठी, निलम्बित डिएसपी अंगुर जिसी, निरीक्षक एकेन्द्र खड्का, सइहरू रामसिंह धामी र हरसिंह धामी तथा जवान चाँदनी साउदविरुद्ध अनुसन्धानमा प्रमाण नष्ट गरेको बताउँदै ‘सार्वजनिक न्यायविरुद्धको कसुर’ मुद्दा दायर भएको थियो । उनीहरू अदालतबाट धरौटीमा छुटेका छन्, तर मुद्दा किनारा लागेको छैन ।
दिलीपसिंहलाई यातना दिएर अपराध कबोल गर्न लगाइएको उल्लेख गर्दै एसपी विष्ट, डिएसपीद्वय सेठी र जिसी तथा निरीक्षक खड्काविरुद्ध अर्को मुद्दासमेत चलाइएको छ । निर्मलाका हत्याराका रूपमा प्रहरीले ४ भदौ ०७५ दिलीपसिंहलाई सार्वजनिक गरेको थियो । डिएनए परीक्षणमा विष्टको संलग्नता प्रमाणित नभएपछि जिल्ला सरकारी वकिल कार्यालयले उनलाई छाड्ने निर्णय गरेको थियो ।
त्यसपछि प्रहरीहरू विरुद्ध नै मुद्दा चलाइएको थियो । तत्कालीन प्रहरी नेतृत्वले अनुसन्धान टुंगो नै नलागी भिडको दबाबमा प्रहरीविरुद्ध नै मुद्दा चलाउने निर्णय गर्दा अहिले समस्या भएको एक प्रहरी अधिकारी बताउँछन् ।
यो घटनालाई नजिकबाट नियालेका राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्वनिर्देशक जीवन रिजाल पनि यसमा प्रहरी नेतृत्वको कमजोरी देख्छन् । हचुवाको भरमा विगतमा निर्णय गर्दै अगाडि बढ्नु हत्या प्रकरण नसुल्झिनुको प्रमुख कारण भएको उनको भनाइ छ । । ‘कसैले सुनाएकै भरमा पहिलेका अनुसन्धानका प्रमाणलाई बदर गरियो,’ उनी भन्छन्, ‘प्रहरीलाई मुद्दा चलाइयो, गल्ती त्यहीँ भएको छ । यो तत्कालीन प्रहरी नेतृत्वले गरेको ब्लन्डर हो । हचुवाका भरमा निर्णय गरियो, जहाँबाट पछाडि फर्किने बाटो नै बन्द भयो ।’
एआइजीकै प्रतिवेदन गलत
निर्मला हत्या प्रकरणमा प्रहरीले भिडको दबाबका आधारमा निर्णय गर्दै गएको एक उदाहरण हो, तत्कालीन एआइजी धिरु बस्नेत नेतृत्वको छानबिन प्रतिवेदन । बस्नेतको प्रतिवेदन गलत रहेको प्रहरीकै अर्को प्रतिवेदनको ठहर छ । पर्याप्त प्रमाण नभएपछि भिडको दबाबका भरमा प्रहरीमाथि नै मुद्दा दायर भएको र यसले अनुसन्धान अधिकृतहरूको मनोबल घटाएको विषय प्रहरीभित्रै उठेपछि तत्कालीन महानिरीक्षक सर्वेन्द्र खनालले थप अध्ययन गर्न डिआइजी सुरज केसी नेतृत्वमा १९ माघ ०७६ मा प्रतिवेदन पुनरावलोकन समिति गठन गरेका थिए । नयाँ पत्रिकाबाट