Indrenionline.com

एकता ओलीसँग, विधि पद्धतिमा नेपालसँग सहकार्य

काठमाडौं, ६ साउन ।

पम्फा भुसाल : स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौँ । समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई पनि निरन्तरता दिएर विधिबाटै अघि बढ्दा उपयुक्त हुने धारणा पनि राखेका छौँ ।

प्रचण्ड : पूर्वएमालेहरू वैचारिक कुरामा एक ठाउँमा हुनुहुन्छ, त्यसैले कहिले कोसँग, कहिले कोसँग एकता, सहकार्य र संघर्ष हुन सक्छ, एकतापछि त्यस्तो हुँदै आएको पनि छ । हिजो केपीजीसँग मिलेर एकता गरेको हो, बीचमा विधि, प्रक्रिया र कार्यशैलीका प्रश्नमा माधवजीसँग कुरा मिल्यो, त्यो गुटबन्दी वा स्थायी समीकरण होइन, तर अहिले पार्टी एकता जोगाउन ओलीसँगै संघर्ष गरे पनि मिल्नुपर्ने हुन सक्छ, निकास दिनका लागि अरूसँगको एकता र संघर्षको अर्थ पनि छैन ।

नेकपाभित्र पूर्वमाओवादी समूहबाट प्रतिनिधित्व गर्ने स्थायी कमिटीका धेरै सदस्यले पार्टीभित्र उत्कर्षमा पुगेको विवाद समाधानका लागि मूल नेतृत्वसँगै सहमति गरेर अगाडि बढ्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुझाब दिएका छन् । तर, पार्टी एकता बचाउन प्रधानमन्त्री केपी ओलीसँगै सहमति गरेर अघि बढ्नुबाहेकको विकल्प नभए पनि अरूलाई पनि विश्वासमा लिएर हिँड्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीले मंसिरमा अर्ली महाधिवेशनको प्रस्ताव ल्याएपछि विकसित पछिल्लो घटनाक्रमका विषयमा प्रस्ट्याएर सुझाब लिने उद्देश्यले प्रचण्डले सोमबार बिहान प्रचण्डनिवासमा पूर्वमाओवादी समूहका स्थायी कमिटीका सदस्यहरूको भेला बोलाएका थिए । पार्टीभित्र पैदा भएका समस्या र मुद्दाका आधारमा फरक–फरक समूहसँग सहकार्य हुने कुरा स्वाभाविक भए पनि अहिले पार्टी विवादबाट निकास दिनुपर्ने प्रचण्डको भनाइ थियो । लगत्तै उनले अन्य सदस्यको धारणा मागेका थिए ।

ओली–प्रचण्डबीच सहमतिको प्रयास जारी रहेपछि १७ असारबाट निरन्तर स्थगित स्थायी कमिटी बैठक मंगलबार डाकिएको छ । बैठकको पूर्वसन्ध्यामा प्रचण्डले पूर्वमाओवादी समूहका नेताहरूसँग बेग्लै परामर्श गरेर ठोस निर्णय लिन सकिने संकेत गरेका छन् । लामो समयदेखि बैठक स्थगित भएको, ओलीसँग बारम्बार संवाद हुँदा पनि दुवै पक्ष आ–आफ्नो अडानमा रहेको र ओलीले पछिल्लोपटक मंसिरमा महाधिवेशनको प्रस्ताव अगाडि सारेपछि प्रचण्डले नयाँ रणनीति निर्माणका लागि पूर्वमाओवादी समूहका नेताहरूसँग छलफल गरेका हुन् । आइतबार उनले आफूनिकट र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरूसँग छलफल गरेका थिए ।

मंसिरको महाधिवेशन सहमतिको एउटा विकल्पका रूपमा छलफलका लागि प्रस्तुत भए पनि आफूले सहमति जनाइनसकेको जानकारी दिएर उनले भेलामा नेताहरूसँग सुझाब मागेका थिए । महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न तयार भए पनि पार्टीको मार्गदर्शक सिद्धान्त र कार्यदिशा जनताको बहुदलीय जनवाद हुनुपर्ने प्रधानमन्त्री ओलीको पछिल्लो प्रस्तावपछि अध्यक्ष प्रचण्ड अलमलमा छन् । अधिकांश नेताले भने व्यावहारिक हिसाबले मंसिरमा महाधिवेशन सम्भव नभएकाले ओलीसँगको छलफल जारी राख्दै स्थायी कमिटी बैठकबाट सहमतिबाटै पार्टी एकता जोगाउने गरी निष्कर्ष निकाल्नुपर्नेमा जोड दिएका छन् ।

‘हामीले स्थायी कमिटी बैठक नरोक्ने र प्रस्तावित एजेन्डाको छलफललाई निरन्तरता दिएर अघि बढ्ने, पार्टी एकतालाई सुदृढ गर्न सुझाब दिएका छौँ,’ बैठकपछि नेतृ पम्फा भुसालले नयाँ पत्रिकासँग भनिन्, ‘समझदारी कायम गर्न अर्का अध्यक्षसँगको छलफललाई पनि निरन्तरता दिएर विधिबाटै अघि बढ्दा उपयुक्त हुने धारणा पनि राखेका छौँ ।’

भेलामा गृहमन्त्री रामबहादुर थापा कार्यक्रममा र जनार्दन शर्माले बिसन्चोका कारण उपस्थित हुन नसक्ने जानकारी गराएका थिए । अर्का नेता लेखराज भट्ट भने छुट्टै भेट्ने भन्दै भेलामा उपस्थित भएनन् । भट्ट पछिल्लोपटक ओलीनिकट छन् । पूर्वमाओवादी समूहका २० मध्ये प्रचण्डसहित १६ नेता भेलामा सहभागी थिए ।

एक नेताका अनुसार भेलामा नेताहरूले मूलतः तीनथरी सुझाब राखेका थिए । नेताहरू टोपबहादुर रायमाझी, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, मणि थापा र चक्रपाणि खनालले स्थायी कमिटी बैठकमा प्रस्तुत एजेन्डामा छलफल केन्द्रित भइरहेका वेला प्रधानमन्त्री ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने विषयलाई मुख्य एजेन्डा बनाउँदा संघर्ष चुलिएकाले समस्या उत्पन्न भएको धारणा राखेका थिए ।
एजेन्डामाथिको छलफल नरोकिएको अवस्थामा विधि र प्रक्रियाभित्रैबाट धेरैको बैठकमा सुझाब आउँदा ओली ‘कन्भिन्स’ हुने स्थिति हुँदाहुँदै राजीनामालाई मुख्य एजेन्डा बनाएर चर्काउँदा पार्टी फुटको तहसम्म पुगेको भन्दै उनीहरूले दुई अध्यक्षले नै गहिरो संवादबाट स्थायी कमिटीमा सहमतिको ठोस प्रस्ताव ल्याउने काममा ढिलाइ गर्न नहुनेमा जोड दिएका थिए ।

त्यस्तै, प्रवक्ता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, पम्फा भुसाल, मातृका यादवलगायतले भने पार्टी एकताको काम नै टुंगिनसकेको अवस्थामा व्यावहारिक हिसाबले अर्ली महाधिवेशन सम्भव नभएको बताएका थिए । उनीहरूले त्यस्तो प्रस्ताव अलमल्याउनका लागि आएकाले अहिलेको अवस्थामा ओलीलाई दुईमध्ये एक पदबाट राजीनामा गराउने गरी नै सहमति गर्नुपर्ने, यदि सहमतिमा नआए विधि र प्रक्रियाभित्रैबाट भए पनि निकास खोज्नुपर्ने धारणा राखेका थिए ।

त्यस्तै, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेल, लीलामणि पोखरेल, शक्तिबहादुर बस्नेतले भने तटस्थ प्रकारको धारणा राखेका थिए । उनीहरूले वरिष्ठ नेता माधवकुमार नेपालसहित सबै पक्षलाई समेटेर अघि बढ्नुको विकल्प नभएकाले सहमतिका आधारमा दुई अध्यक्षले नै निकास दिनुपर्नेमा जोड दिएको एक नेताले बताए ।

बैठकमा सहभागी नेता देवेन्द्र पौडेलका अनुसार अधिकांश नेताले पार्टी एकतालाई केन्द्रबिन्दु बनाएर मूल नेतृत्वसँग सहमति गर्दै अघि बढ्नुपर्ने सुझाब दिएका छन् । ‘धेरै साथीको धारणा मुख्य नेतृत्वसँगै सहमति गरेर निकास दिनुपर्छ भन्ने छ, पार्टीभित्र सधैँ संघर्ष मात्रै हुन्न, विषय र मुद्दाका आधारमा कहिले कोसँग र कहिले कोसँग सहकार्य र संघर्ष हुन सक्छ,’ पौडेलले भने, ‘तर, मुख्य कुरा लामो समयसम्म निकास नदिएर पद र प्रतिष्ठाका लागि लडाइँ गरेजस्तो देखिए जनतामा नकारात्मक सन्देश जान्छ, त्यसैले स्थायी कमिटी बैठकबाटै छिटो निष्कर्षमा पु¥याउनुपर्छ भन्ने धेरै साथीको सकारात्मक सुझाब छ ।’

एकता र संघर्ष ओलीसँगै : प्रचण्ड
भेलामा अध्यक्ष प्रचण्डले पार्टीभित्र अहिले देखिएको समस्याको निकास प्रधानमन्त्री ओलीसँगको संघर्ष र एकताबाटै सम्भव हुने भन्दै त्यसका लागि सहमतिको प्रयास भइरहेको जानकारी गराएका थिए । अब लामो समय पार्टीलाई निर्णयविहीनताको अवस्थामा राख्न नहुने प्रचण्डको भनाइ थियो ।
‘पूर्वएमालेहरू वैचारिक कुरामा एक ठाउँमा हुनुहुन्छ, त्यसैले कहिले कोसँग, कहिले कोसँग एकता, सहकार्य र संघर्ष हुन सक्छ, एकतापछि त्यस्तो हुँदै आएको पनि छ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘हिजो केपीजीसँग मिलेर एकता गरेको हो, बीचमा विधि, प्रक्रिया र कार्यशैलीका प्रश्नमा माधवजीसँग कुरा मिल्यो, त्यो गुटबन्दी वा स्थायी समीकरण होइन, तर अहिले पार्टी एकता जोगाउन ओलीसँगै संघर्ष गरे पनि मिल्नुपर्ने हुन सक्छ, निकास दिनका लागि अरूसँगको एकता र संघर्षको अर्थ पनि छैन ।’ नयाँ पत्रिकाबाट