Indrenionline.com

ओलीको नयाँ प्रस्ताव मंसिरमा महाधिवेशन, नेपाल असन्तुष्ट

काठमाडौं, ४ साउन । नेकपामा जारी विवादबीच महाधिवेशनको बहस सुरु भएको छ । अध्यक्ष केपी ओलीको प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकारात्मक धारणा राखेका छन् भने माधव नेपालसहितका नेताहरूले आशंका व्यक्त गरेका छन् । आगामी मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा स्थायी कमिटीले छलफल गर्ने भएको छ ।

शनिबार बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले आफूले पनि आत्मालोचना गर्ने बताउँदै अरूलाई पनि आ–आफ्ना कमजोरी सच्याउन आग्रह गरेका थिए । ‘सिंगो देश र पार्टी अहिले संकटमा छ । संकट टार्नुपर्ने हाम्रो दायित्व छ । अहिलेको महत्वपूर्ण काम भनेको पार्टी एकता हो । एकता बचाउन हामी सबै आ–आफ्ना कमजोरी स्वीकार गर्न तयार हुनुपर्छ । म मेरो कमजोरी स्वीकार गर्छु, आत्मालोचना गर्छु । अरू साथीले पनि कमजोरी स्विकारेर आत्मालोचना गर्नुस्,’ ओलीको भनाइ थियो ।

उनले चैतको महाधिवेशन सारेर मंसिरमा ल्याउन प्रस्ताव गरेका थिए । ‘महाधिवेशन चाँडै गरौँ, हुन सक्छ मंसिरमै गरौँ भन्ने भएको छ । औपचारिक निर्णय लिउँला । महाधिवेशनबाट हाम्रा समस्या हल गर्छौँ,’ उनको प्रस्ताव थियो ।

महाधिवेशनबारे ओलीको प्रस्तावमा प्रचण्डले पनि सकारात्मक धारणा राखेका थिए । ‘पार्टी एकताको रक्षा महत्वपूर्ण हो । महाधिवेशन चाँडै गरेर अहिलेको जटिलता तोड्न सकिन्छ भन्ने हामीलाई लागेको छ । हामी सबै मिलेर महाधिवेशनमा जाने र समस्या हल गर्ने हो,’ उनको भनाइ थियो ।

महाधिवेशनको प्रस्ताव आए पनि कुनै निष्कर्षमा नपुगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पार्टीको संकट समाधान र हाम्रो जिम्मेवारीबारे विभिन्न विचार प्रस्तुत भए पनि ती प्रस्ताव बनिसकेको र निर्णयार्थ प्रस्तुत गरिसकेको अवस्था होइन,’ श्रेष्ठले भने, ‘तैपनि स्थायी कमिटी र पार्टीमा देखापरेका विभिन्न विचारलाई पनि सम्बोधन गर्ने गरी कसरी समाधान निकाल्न सकिन्छ, सहमतिका आधारमा सम्बोधन गरौँ, निकास निकालौँ भनेर छलफल जारी छ । अझै व्यवस्थित ढंगले गृहकार्यलाई प्रस्तावका रूपमा ल्याउने काम हुन्छ र त्यसपछि पनि छलफल हुन्छ ।’

तर, अहिलेको विवाद महाधिवेशनसम्म तन्काउने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठले भने असहमति राखेका छन् । ‘पार्टीलाई विधिसम्मत सञ्चालन गर्ने सम्बन्धमा कुनै ठोस प्रस्ताव आएको छैन, त्यसैले अधुरो प्रस्ताव मान्य हुँदैन,’ उनीहरूको भनाइ थियो ।

वरिष्ठ नेता नेपालले मंसिरमा महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्ने प्रस्तावमाथि गम्भीर प्रश्न उठाउँदै पार्टी र सरकारलाई विधि र प्रक्रियाअनुसार चलाउने विषयलाई ओझेलमा नपार्न नेताहरूलाई चेतावनी दिए । उनले आफूले लामो समयदेखि उठाउँदै आएको मुद्दा सम्बोधन गर्ने गरी ठोस प्रस्ताव नआए फरक मत लिएर देशव्यापी अभियानमा जाने जानकारी पनि दिएको एक नेताले बताए । नयाँ पत्रिकाबाट