नेकपा ( माओवादी केन्द्र ) ले मुलुकका तमाम समस्या हल गर्न प्रमुख दलको सहमतिमा राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने विषयलाई पुनः प्रमुख प्राथमिकता दिएको छ ।
प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
माओवादीले संविधान लेखन प्रक्रियाबाटै असन्तुष्ट बन्दै आन्दोलनमा रहेको मधेसवादी दल, थारु, जनजाति तथा आदिवासी समुदायको माग सम्बोधन गर्नुपर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई गति दिनुपर्ने, बाढी पहिरोपीडितलाई राहत तथा उद्धारका लागिसमेत प्रमुख दलको सहमति जरुरी रहेको बताउँदै आएको छ ।
शान्ति प्रक्रियासँग जोडिएका कतिपय विषयमा जुन गतिमा काम गर्नुपर्ने हो, सो हुन नसकेको भन्दै माओवादी केन्द्रले एमालेसँग असन्तुष्टि व्यक्त गर्दै आएको छ । माओवादी केन्द्रको पोलिटब्युरो बैठकले सहमतिको सरकार गठन गर्ने र त्यसको संयोजन गर्ने जिम्मा अध्यक्ष दाहाललाई नै दिएको सन्दर्भमा आजको केन्द्रीय कार्यालयको बैठकले समेत सोही आधारमा निर्णय गरेको हो ।
आइतबार साँझ एमालेलगायतका सत्तारुढ दलहरुसँग संयुक्त छलफल गरेको माओवादीले सबै पक्षसँग सहमतिको सरकार गठनका लागि द्विपक्षीय तथा बहुपक्षीय छलफल गर्ने निर्णय गरेको प्रवक्ता भुसालको भनाइ छ ।
