काठमाडौं, २४ असार । एक–अर्काप्रति चरम अविश्वास र आक्रोशमा उत्रेका नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो दुई दिन एकले अर्कालाई आफ्ना कुरा सुनाउँदैमा बितेको छ । तर, अविश्वास चुलिएर पार्टी एकता भंग हुने अवस्थामा पुग्नुका कारणबारे पालैपालो धारणा राखेर आ–आफ्नो ‘बटमलाइन’ सुनाउनेबाहेक छलफल ठोस सहमतिउन्मुख भने भइसकेको छैन । सोमबार ओलीले र मंगलबार प्रचण्डले आफ्ना कुरा खुलेर राखेका छन् ।
अहिलेसम्मको छलफलमा पालैपालो अविश्वास चुलिएर एकता भंग हुने तहसम्म पुग्नुको कारणबारे प्रस्ट्याउनेबाहेक निकासका विकल्पमा गहिरोसँग अझै संवाद अघि नबढेको सचिवालयका एक नेताले बताए । मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको करिब दुई घन्टाको छलफलमा अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालन दुवैतिर सफल नेतृत्व गर्न नसकेका कारण सहमतिका लागि पद त्याग गरेर ओलीले निकास दिनुपर्ने ‘बटमलाइन’ सुनाएका छन् । सोमबार भने ओलीले एकीकृत पार्टीको मर्म र भावना तथा विधि र प्रक्रियाविपरीत गुटबन्दी गरेर हटाउन खोजेका कारण प्रतिक्रियात्मक कदम चाल्नुपरेको प्रस्टीकरण दिएका थिए ।
‘मंगलबारको छलफलमा प्रचण्ड कमरेडले उहाँ (ओली)को नेतृत्वमा पार्टी सञ्चालन हुन नसकेको, सरकार पनि असफल र बदनाम हुँदै गएको, एकताका क्रममा भएका सहमति पनि उल्लंघन गर्दै गएकाले कुनै एक पद त्यागेर भए पनि निकास दिनुपर्ने कुरा स्पष्टसँग राख्नुभएको छ,’ प्रधानमन्त्रीसँगको छलफलपछि खुमलटारमा सचिवालयका चार सदस्यलाई प्रचण्डले सुनाएको ब्रिफिङ उद्धृत गर्दै एक सचिवालय सदस्यले नयाँ पत्रिकासँग भने, ‘तर, कुनै टुंगोमा नपुगेकाले त्यही ठाउँमा ९ओलीले कुनै एक पद त्याग गर्ने कुरामा० अड्किएको छ, दुई दिनसम्म पालैपालो आ–आफ्नो कुरा राख्नेबाहेक नयाँ केही प्रगति भएको छैन ।’ नयाँ पत्रिकाबाट