काठमाडौं, १७ असार । बैठक सुरु हुनअघि प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका थिए । ओली आउन ढिलाइ भएपछि अध्यक्ष प्रचण्डले बैठक सुरु गरेका थिए । प्रचण्डले बोल्दाबोल्दै ओली बैठकमा प्रवेश गरेका थिए । ओलीतर्फ लक्षित गर्दै प्रचण्डको भनाइ थियो, ‘मैले वैशाखमा बसेको सचिवालयको बैठकमा पनि तपाईंको राजीनामा मागेको हुँ, अहिले पनि माग्छु । सरकारले डेलिभरी दिन सकेन, कम्युनिस्ट आन्दोलन नै बदनाम भयो, देशभित्रका जनताले र पार्टीका नेताले राजीनामा मागेका छन् । तर, तपाईं भारतले हटाउन खोज्यो भनेर देश र जनताको अवहेलना गर्दै हुनुहुन्छ, सबै स्थिति हेर्दा तपाईं हट्दा राम्रो हुन्छ, हट्नुस् ।’
ओलीको जवाफ ; मैले भारतको आलोचना गर्दा तपाईंलाई दुख्नुपर्ने कारण के छ ?
ओलीको जवाफ थियो, ‘तपार्इंहरूले मेराविरुद्ध मोर्चाबन्दी गर्नुभएको छ, खुमलटारमा बसेर रणनीति बनाएर यहाँ आउनुहुन्छ । भारतीय मिडियामा त्यही भाषामा समाचार आइरहेका छन् । दुवैतर्फको भाषा कसरी हुबहु मिल्छ रु प्रचण्डले ओलीको राजीनामा मागे भनेर त दिल्लीकै मिडियाले भनिरहेका छन् नि । मैले भारतको विषयमा बोल्दा तपाईंहरूलाई दुख्नपर्ने कारण के छ रु
नेपालको भनाइ : तपाईंबाट सरकार र पार्टी चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस्
तर, वरिष्ठ नेता माधव नेपालले पहिलो पुस्ताको त्याग र दोस्रो पुस्ताको योगदानले बनाएको पार्टी अहिले भद्रगोल भएको भन्दै त्यसका लागि जिम्मेवार ओलीले राजीनामा दिनुपर्ने बताए । नेपालको भनाइ थियो, ‘पहिलो पुस्ताको त्याग र बलिदानबाट बनेको सुन्दर पार्टीलाई दोस्रो पुस्ताले पनि त्यत्तिकै ठूलो योगदान ग¥यो, तर आज पार्टी दुरावस्थामा पुगेको छ । कहीँ पार्टी छ भन्ने स्थिति छैन, कमिटी संगठित छैन, परिचालित छैन, कमिटी भए पनि बैठक बस्दैन । सरकार झन्झन् अलोकप्रिय बन्दै गएको छ । नियुक्तिहरूमा कुनै मापदण्ड छैन, मनपरी छ । पार्टी नामको संस्था छैन, अस्तव्यस्त छ । यहाँ केही भन्यो भने गीत गायो भनिन्छ, तर गीत गाएको होइन, यो अहिलेको वास्तविक तस्बिर हो । त्यसकारण अब तपाईंबाट चल्न सक्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’
ओलीको प्रतिप्रश्न : तपाईंले जिन्दगीभर शासन गर्ने, मलाई त्याग गर्नुस् भन्ने ?
नेपालको प्रश्नमा पनि ओलीले जवाफ दिएका थिए, ‘तपार्इंहरूले त्यागको कुरा कसरी गर्नुहुन्छ रु प्रचण्डले ३४ वर्षदेखि एकछत्र पार्टीमा शासन गर्ने, माधव नेपालले १६ वर्ष पार्टी महासचिव हुने, झलनाथले पनि दुईपटक गरेर १३ वर्ष पार्टी चलाएको हामीले हेरेकै हो । तपाईंहरूले त्याग भनेर अरूलाई नैतिकता सिकाउन मिल्दैन होला । बरु अब म प्रधानमन्त्री पनि हुन्नँ, पार्टी अध्यक्ष पनि चाहिँदैन, चुनाव नै लड्दिनँ ।’
ओलीलाई खनालको कटाक्ष : अब त तपाईंले जिते पो पार्टीमा चुनाव लड्नु !
ओलीको भनाइमा हस्तक्षेप गर्दै खनालले भने, ‘अब त जिते पो लड्नु ।’ ओलीले पनि जवाफ फर्काए, ‘तपाईंको पनि हविगत नबुझेको होइन ।’ ओलीले बोल्दा झलनाथ खनालले दुईपटक प्रतिवाद गरेका थिए । प्रधानमन्त्रीले आफ्नो व्यक्तिगत स्वार्थका लागि अरू नेतालाई भारतीय एजेन्ट भनेको भन्दै खनालले आपत्ति जनाएका थिए । उनको भनाइ थियो, ‘त्यसमाथि अहिले जुन ढंगले भारतलाई मिसाएर नेपाली नेताहरूलाई लान्छित गर्दै बोल्नुभो, पार्टीका सारा नेताहरूलाई एजेन्ट बनाउने गरी बोल्नुभो, यो गम्भीर, आपत्तिजनक र अनैतिक छ । तपाईंले भारतसँग वार्ता गरेर भूमि फिर्ता गर्न पनि सक्नुहुन्न । अब पनि तपाईंले पदमा बस्न मिल्दैन, दुवै पदबाट राजीनामा दिनुस् ।’
आफ्नो सरकार ढाल्न भारतको राज्यसंयन्त्र र नेपालका नेता संलग्न भएको भन्ने ओलीको भनाइको विरोध गर्दै नेता नेपालले भने, ‘भारतले चलखेल गरेको हो भन्ने थाहा पाएको हो भने नेपालमा रहेका कर्मचारीलाई परराष्ट्रमार्फत सोध्न सकिने, गतिविधिमाथि रोक लगाउन सकिने र सरकारविरुद्ध गतिविधि भए फिर्ता पठाउन सकिने विकल्प हुँदाहुँदै पार्टीको बैठक चलिरहेका वेला चलखेल भयो, नेताहरू संलग्न भए भनेर तपाईंले अभिव्यक्ति दिनुभयो, अविश्वास बढायो ।’
निर्वाचन आयोगमा नेकपा एमाले किन दर्ता भयो ? : प्रचण्ड
मंगलबारको बैठकको सुरुमै अध्यक्ष प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले नामको दल दर्ता भएको र यो कसैको दबाबमा गरिएको भन्ने सूचना आएको भन्दै प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने माग गरेका थिए । ‘दल दर्तामा प्रधानमन्त्रीज्यूको नाम पनि जोडिएको छ । दबाबमा गरेको पनि भनिएको छ । यसबारे उहाँले स्पष्ट पार्नुपर्छ,’ प्रचण्डको भनाइ थियो ।
तर, प्रधानमन्त्री ओलीले दल दर्ताबारे आफूलाई केही थाहा नभएको बताएका थिए । ‘दल दर्ता कसले गरेको हो मलाई थाहा छैन । जोकोही नागरिकले दल दर्ता गर्न पाउँछ । संविधानमा अधिकार छ । कसैले गरेको होला,’ एक सदस्यका अनुसार बैठकमा ओलीको भनाइ थियो, ‘निर्वाचन आयोगमा त गोपाल किराँतीको नेतृत्वमा माओवादी केन्द्र पनि दर्ता भएको छ, त्यसका बारेमा मैले सोधखोज गरेको छैन, तपाईंहरू किन मेरो पछि लाग्नुहुन्छ ?’
केपी ओलीको निर्देशनमा दल दर्ता भएको हो, प्रमाण दिन तयार छु : गौतम
तर, वरिष्ठ नेता खनाल र नेपालले दल दर्ताका विषयमा छानबिनको माग गरेका थिए । तर, उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री ओलीको निर्देशनमा दल दर्ता भएको दाबी गरे । ‘शतप्रतिशत केपी ओलीकै निर्देशनमा नेकपा एमाले दर्ता भएको हो । मसँग प्रमाण छ, सूचना छ, छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु । पार्टी र सरकारको नेतृत्व दुवैमा प्रधानमन्त्री चुक्नुभो, अब उहाँले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,’ गौतमको भनाइ थियो । नयाँ पत्रिकाबाट