काठमाण्डौ, १० असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ ।
यसरी मूल्याङ्कन गर्दा संवत् २०७६ को कूल पूर्णाङ्कको सैद्धान्तिक र प्रयोगात्मक गरी पहिलो त्रैमासिकको १०, दोस्रोको ३० र तेस्रो त्रैमासिक परीक्षाको ६० प्रतिशत अङ्कभार दिइ ग्रेड निर्धारण गर्नुपर्नेछ । मन्त्रिपरिषद्को गएको जेठ २८ को बैठकले गत वर्षको अन्तिम मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।
कार्यविधिमा स्थानीय तहको सहजीकरणमा जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयका त्यस्ता मूल्याङकन विवरणलाई सङ्कलन गरी सक्कल प्रति परीक्षा नियन्त्रण कार्यालयलाई पठाउन भनिएको छ । कार्यविधिमा समय तालिका भने खुलाइएको छैन ।
गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार नौ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । रासस