Indrenionline.com

स्वास्थ्य सामग्री खरीदमा अनियमितता

काठमाडौं,९ असार। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखासमितिले कोरोना महामारीको उपचारका लागि स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य सेवा विभागले ओम्नी बिजनेश प्रालि (ओम्नी) सँग गरेको स्वास्थ्य सामग्री खरीद प्रक्रिया कानूनविपरीत रहेको बताएको छ । समितिको सोमवार बसेको बैठकले स्वास्थ्य सामग्री खरीदका लागि स्वास्थ्य विभाग र ओम्नीबीचको सम्झौता सार्वजनिक खरीद ऐनविपरीत भएको बताउँदै यसको विस्तृत अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।

समितिका सभापति भरतकुमार शाहका अनुसार समितिको प्रारम्भिक अध्ययनले स्वास्थ्य सामग्री खरीदमा असम्बद्ध व्यक्तिलाई संलग्न गराई अख्तियारको चरम दुरुपयोग गरेको पाइएको छ । ‘खरीद प्रक्रियामा विभागीय प्रमुखले नेतृत्व गर्नुपर्नेमा अन्य असम्बद्ध व्यक्तिलाई संलग्न गराई अख्तियारको चरम दुरुपयोग गरेको देखिएको छ,’ सोमवारको बैठकको शुरूमै समितिका सभापति शाहले भने ।

ओम्नीसँगको विवादित खरीद प्रक्रियाबारे समितिले सोमवार प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद बिडारी, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमान सिंहसँग सोछपुछ गरेको छ ।

स्वास्थ्य मन्त्रालयले चैत १२ मा कोरोना उपचार र नियन्त्रणका लागि स्वास्थ्य सामग्री किन्न मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीको नेतृत्वमा वार्ता समिति बनाएको थियो । कार्की समितिले ओम्नी समूहको नाम सिफारिश गरेको थियो । त्यसलाई स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अनुमोदन गरेपछि स्वास्थ्य सेवा विभागले ओम्नीसँग औपचारिक सम्झौता गरेको थियो । खरीद ऐनमा व्यवस्था भएको मूल्यांकन समितिलाई खरीद प्रक्रियामा कुनै भूमिका नदिएको पाइएको समितिकोे प्रारम्भिक अध्ययनले देखाएको छ ।

सोमवारको बैठकमा स्वास्थ्य सामग्री खरीदमा स्वास्थ्यमन्त्री ढकाल र विज्ञ सल्लाहकार डा। कार्कीको भूमिका शंकास्पद देखिएको सांसदहरूले बताए । उनीहरूका अनुसार स्वास्थ्य सामग्री किन्ने जिम्मा ओम्नी समूहलाई दिन स्वास्थ्यमन्त्रीसहित मन्त्रालयका उच्च अधिकारीहरूले देखाएको हतारोले अनियमितता भएको देखाउँछ ।

सत्तारूढ नेकपाका सांसद विरोध खतिवडाले ओम्नीलाई स्वास्थ्य सामग्री किन्ने जिम्मा दिन चैत १२ गते भएको बैठक शृंखलाले अनियमितताको आशंका जन्माएको बताए । चैत १२ गते राति नै बैंक, कम्पनी र समूहलाई पत्राचार गरी काम गरिएको र पछि फेरि ठेक्का नै रोकेर रद्द गर्ने कार्यले अनियमितता भएको स्पष्ट हुने उनले बताए । ओम्नीले ल्याएको स्वास्थ्य सामग्री गुणस्तर जाँच्ने भनेर पत्राचार भएको तर जाँच नभईकनै वितरण र प्रयोगमा ल्याइएको देखिनुले यसमा ठूलो अपराध भएको उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद मीनेन्द्र रिजालले स्वास्थ्यमन्त्रीका सल्लाहकारको संलग्नताले नै अनिमितताको बाटो खुलाएको बताए अभियानमा खबर छ। उनले भने, ‘प्रारम्भिक छलफलमा नै सहभागी नभएकालाई ठेक्का दिइयो । नेपाली रुपैयाँमा सम्झौता भएर डलरमा भुक्तानी भयो । डलरको मूल्यमा आएको परिवर्तनका कारण यस्तो भएको हो । त्यसमा उहाँहरूले जवाफ दिनुभएको छैन,’ उनले भने ।