Indrenionline.com

राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता ल्यायो : प्रचण्ड

काठमाडौँ, ३१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमि फिर्ता ल्याउन गणतन्त्रले ऐतिहासिक जिम्मेवारी लिएको बताएका छन् ।

संविधानको दोस्रो संशोधनमाथि दफाबार छलफलका लागि प्रस्तुत गरिएको प्रस्ताबमाथि बोल्ने क्रममा उनले प्रतिनिधिसभाबाट आज हुने निर्णय दोस्रो ऐतिहासिक चुनौती र भौगोलिक अखण्डता सुदृढ गर्ने अभियानकै कडी भएको बताए ।

प्रचण्डले राजतन्त्रले गुमाएको लिम्पियाधुरा, कालापानी र लिपुलेक गणतन्त्रमा यो सरकारले फिर्ता ल्याउन लागेको दावी गरे । अध्यक्ष दाहालले मन्तव्य राख्नुअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले संविधानको दोस्रो संशोधन प्रस्ताव दफावार छलफलको लागि प्रस्ताव पेश गरेकी थिइन् ।