Indrenionline.com

भारतीयद्वारा सर्लाहीमा सशस्त्र प्रहरीमाथि आक्रमण

सलाही, ३१ जेठ । अवैध रूपमा नेपाल पस्न खोजेका भारतीयलाई रोक्न खोज्दा सर्लाहीको नारायणपुर नाकामा शुक्रबार भएको झडपमा सशस्त्र प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएको छ । झडपमा तीन सशस्त्र प्रहरी र दुई भारतीय घाइते भएका छन् । उनीहरूको उपचार भइरहेको छ ।

पर्सा गाउँपालिका–३ स्थित नारायणपुर पोस्टमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीमाथि बिहान साढे ९ बजेतिर करिब सयको संख्यामा आएका भारतीयले आक्रमण गरेका थिए । उनीहरूमध्ये अधिकांश सीमावर्ती भारतीय गाउँ टोला–ललबन्दीका व्यापारी थिए । लकडाउनपछि नेपाल–भारत ओहोरदोहोर रोकिएका कारण व्यापारमा समस्या भएको भन्दै उनीहरू जबर्जस्ती नेपाल पस्न खोजेका थिए । भारतबाट दैनिक सामान ल्याएर दिनभरि नेपालमा बेच्ने उनीहरूको व्यापार थियो ।

शुक्रबार सुरुमा २०–२५ जना नेपाल पस्न खोजेका थिए । तर, सशस्त्रले रोकेपछि उनीहरू आक्रमणमा उत्रिए । सशस्त्रको एक थान हतियार पनि खोसे । लगत्तै थप ७०–८० जनाको समूह पनि आएर ढुंगा, इँटा र लाठाले आक्रमण गर्दै लखेट्न थालेपछि सशस्त्रको टोलीले भिड तितरबितर पार्न हवाईफायर गरेको थियो । तर, हवाईफायरबाट थप उत्तेजित भिडले ज्यान जोगाउँदै तीन सय मिटर वर आइसकेको सशस्त्रको टोलीलाई आक्रमण गर्न नछाडेपछि गोली चलाउनुपरेको सर्लाहीका सिडिओ मोहनबहादुर जिसीले बताए ।

गोली लागेर भारत सीतामढी जिल्लाको जानकीनगर टोला–ललबन्दी बस्ने २७ वर्षीय बिकेसकुमार रायको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । त्यस्तै, ललबन्दीकै १९ वर्षीय उमेश राम र रोहडवा ग्राम पञ्चायत बस्ने ३२ वर्षीय उदय ठाकुर घाइते भएका छन् । उमेशको हातमा र उदयको दायाँ खुट्टामा गोली लागेको छ नयाँ।पत्रिकामा खबर छ दुवैजनाको सीतामढीमा उपचार भइरहेको भारतीय अधिकारीले जनाएका छन् ।