केशरमान बुढाथोकी
दाङ २१ जेठ । कोरोना भाइरसको महामारीले देशलाई आक्रान्त बनाइरहेका बेला पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महरा स्वास्थ्य सामग्री बोकेर आफ्नो निर्वाचन क्षेत्र आएका छन् ।
पछिल्लो समय दाङमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोरोना भाइरस संगको लडाइमा अग्रपंतिमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक र समाचार सम्प्रेसनमा अग्रपंतिमा रहने संचारकर्मीका लागि विभिन्न स्वास्थ्य सामग्री बोकेर दाङ आएका हुन् ।
आफ्ना निर्वाचन क्षेत्रका जनताको स्वास्थ्यमा बिशेष चासो राख्दै पूर्व सभामुख महराले आफुले ल्याएको १०० थान पिपिई र १० हजार थान माक्स दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई हस्तान्तरण गरेका हुन् ।
पूर्व सभामुख महराले हस्तान्तरण गरेका स्वास्थ्य सामग्री दाङका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी र एम्बुलेन्स चालकहरुलाई प्रदान गरिने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
पूर्व सभामुख महराले प्रदान गरेका सामग्रीहरु जिल्ला प्राशासन कार्यालय दाङ मार्फत राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ, राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, स्वास्थ्य कार्यालय दाङ, कोरोना बिशेष अस्पताल बेल्झुन्डी दाङ र अग्रपंतिमा खटिने सुरक्षा कर्मीलाई प्रदान गरिनेछ ।
त्यस्तै भारतबाट आफ्नो गृह जिल्ला दाङ भित्रिने नागरिकहरुको संख्या अत्याधिक बढेपछी जतिसक्दो छिटो कोरोना परिक्षण गरेर अवस्थालाई भयावह हुन नदिन पूर्व साभामुख महराले बिशेष पहल गरेका छन् । महराको पहलमा स्वास्थ्य मन्त्रालयबाट ४ हजार थान किट आजै दाङ जिल्लामा भित्रिने महराका स्वकीय सचिव प्रमोद शर्माले बताए ।
