Indrenionline.com

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग ३०० मिटर विस्तार

काठमाडौं, १७ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर कायम गरिएको छ । अन्तरराष्ट्रिय विमानस्थलको पुरानो तीन हजार मिटर लामो धावनमार्गलाई थप ३०० मिटर विस्तार गएको हो । विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र) रनवे जिरो–टु विस्तारको काम सम्पन्न भएको विमानस्थलले जानकारी दिएको छ ।

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण –क्यान० अन्तर्गतका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले धावनमार्ग विस्तारको काम गरेको हो ।आयोजनाका सूचना अधिकारी दीपेन्द्र श्रेष्ठले धावनमार्ग विस्तार गरी तीन हजार ३०० मिटर बनाइएको जानकारी दिए । विमानस्थलको धावनमा मार्ग विस्तारपछि उडान अवतरणका लागि सहजता आउनाका साथै अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन ९आइकाओ० को मापदण्ड पूरा हुने उनले उल्लेख गरे ।

धावनमार्ग विस्तारपछि अन्तरराष्ट्रिय उडानका जहाजलाई उडान अवतरणमा सहजता हुने विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।महाप्रबन्धक केसीका अनुसार अन्तरराष्ट्रिय विमानस्थलको यो चौथोपटकको धावनमार्ग विस्तार गरिएको हो । यसअघि विमानस्थलको शुरुमा छ हजार, दोस्रोपटक आठ हजार र तेस्रोपटक तीन हजार मिटर धावनमार्ग विस्तार भएको थियो ।

अन्तरराष्ट्रिय विमानस्थलमा अहिले जम्बो जेट, बोइङ ७४७, एयरबस ए–३३० लगायत जहाज सहजै उडान अवतरण गर्छन् । यो विमानस्थलबाट तीन नेपालीसहित ३० वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान गर्दै आएका छन् ।

बन्दाबन्दीमै धावनमार्ग विस्तार
कोभिड–१९ को महामारी नियन्त्रणका लागि सरकारलै चैत ११ देखि लागू गरेको बन्दाबन्दीकै अवस्थामा धावनमार्ग विस्तारको काम सकिएको हो ।

तीन सय मिटर धावनमार्ग विस्तारका लागि मूल्य अभिवृद्धि करबाहेक रू। ८० करोड बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी श्रेष्ठले बताए ।

परियोजनाको कालिका तुण्डी जेभीलाई निर्माण ठेक्का दिइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीसँगै आन्तरिक र अन्तराष्ट्रिय दुवैतर्फका नियमित उडान अवतरणमा प्रतिबन्ध गरिएपछि बेलुका ६ देखि बिहान ६ बजेसम्म १२ घण्टा धावनमार्ग विस्तारको काम गरिएको थियो ।

तीन सय मिटर लामो धावनमार्ग विस्तार गरी कालोपत्र गर्ने काम सकिएकाले अब ‘रनवे लाइट र एप्रोच लाइट’ राख्ने काममात्रै बाँकी रहेको आयोजनाले जानकारी दिएको छ । ‘सिभिल निर्माणको काम सकिएको छ, अब केही प्राविधिक काम बाँकी छ, रनवे लाइट विदेशबाट ल्याउनुपर्ने भएकाले केही समय लाग्नसक्छ’, सूचना अधिकारी श्रेष्ठले भने ।

आयोजनाअन्तर्गत विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल भवनको नयाँ ‘स्टेरायल हल’ निर्माणको काम पनि सकिएको छ । यो काम पनि बन्दाबन्दीकै समयावधिमा भएको हो । एक हजार २०० सिट क्षमताको हल बनाइएको छ । अहिले सोही भवनको पुरानो स्टेरायल हल भत्काउने काम भइरहेको छ ।

अन्तरराष्ट्रियतर्फ १५ जहाज क्षमताको पार्किङ
अन्तरराष्ट्रिय विमानस्थलको दुवैतर्फ पार्किङ वे विस्तार गरी १५ इन्टरनेशनल एयरक्राफ्ट अट्ने क्षमताको बनाइएको छ । विमानस्थलको पश्चिमतर्फ चार र उत्तरपूर्वतर्फ दुई ठूला जहाज अट्ने गरी पार्किङ क्षमता विस्तार गरिएको छ ।

यसअघि विमानस्थलको अन्तरराष्ट्रिय उडानमा नौओटा मात्रै जहाज पार्किङ क्षमता रहेकामा अब १५ ओटा ठूला जहाज सहजरुपमा राख्न सकिने महाप्रबन्धक केसीले बताए ।

बुटिकको काम पनि धमाधम
अन्तरराष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्ने काम पनि धमाधम भइरहेको छ । विमानस्थलको भित्री भागको साजसजावटको काम सकिएको छ । अब अन्तिम काम अन्तरराष्ट्रिय टर्मिनल बाहिरपट्टि ‘क्यानोपी’ राख्ने काम पनि शुरु भएको छ । क्यानोपीको संरचना बनिसकेको छ । रासस