इन्द्रेणी संवाददाता
पाल्न नसक्ने भन्दै आफ्नै आमाले एक शिशुको हत्या गरेकी छिन । उदयपुर घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६, घलाते बस्ने २२ वर्षकी रमिला राईले आफ्नो चार दिने शिशुको हत्या गरेर फालेको बताएकी छिन ।
आफुले आफ्नो सन्तानलाई पाल्न नसक्ने भएकाले हत्या गरेको महानगरीय प्रहरी वृत्तमा बयान दिएको डीएसपी चक्रराज जोशीले जानकारी दिए । बिगत लामो समय देखि घर ढलानको काम गर्दै आएकी आमाले शिशुको मुखमा कपडा कोचेर हत्या गरेको बताएकी छिन ।
उनी बसेको घर निजिकै रहेको फोहोरको थुप्रोमा सालनाल सहितको मृत शिशु देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले सोमबार शिशुको मुखमा कपडा कोचिएको र सालनाल समेत नछुट्टिएको अवस्थामा शव फेला पारेको छ ।
शिशु हत्याको आरोपमा प्रहरीले रमिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । उनको श्रीमानको समेत खोजी गरिरहेको छ । शिशुको शव पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ । रमिलाविरुद्ध कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाइएको डीएसपी जोशीले बताए ।
