काठमाडौँ, २८ वैशाख । विश्वभर महामारीका रुपमा फैलिरहेको कोभिड–१९० संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७८ पुगेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकानुसार सबैभन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप पाँच जनाले ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा बेलायतका दुई तथा स्वीडेन, बहराइन र युएईका एकएक थपिएका छन् । संयोजक डा सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार ४७२ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् । संक्रमितमध्ये दुई हजारभन्दा बढी नेपाली कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाली समुदायमा कोरोना भाइरस संक्रमणको गति गत साताभन्दा कम हुँदै गएको छ । रासस