Indrenionline.com

लकडाउनबारे आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

इन्द्रेणी संवाददाता
काठमाडौं, १४ बैशाख । कोरोना रोकथाम उच्च स्तरिय समितिको शनिवार बसेको बैठकले अन्तािरष्ट्रय उडान र आन्तरिक उडाहरु जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

भोली सकिदै गरेको लकडाउनको समय थप गर्ने वा यसको मोडेल परिवर्तन गरेर केही खुकुलो गर्ने विषयमा समितिमा छलफल भयो । बैठकमा अधिकांश सदस्यहरुले अति प्रभावित क्षेत्र, कम प्रभावित क्षेत्रमा विभाजन गरी त्यहाँको परिस्थितिअनुसार लकडाउन खुकुलो गर्नुपर्ने धारणा राखेका थिए ।

उच्च स्तरिय समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले २१ औं बैठकबाट आगामी मे सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान रद्ध गर्ने प्रस्ताव भोलिको मन्त्री परिषद्को बैठकमा पेश गर्ने छलफल भएको बताए ।

सदस्यहरुको धारणालाई आत्मसाथ गर्दै समितिले लकडाउनको विकल्प नभएको निष्कर्ष निकाल्दै लकडाउनको मोडालिटी कस्तो बनाउने वा यसैलाई यथावत गर्ने अन्तिम निर्णय लिनका लागि मन्त्रिपरिषद्को बैठकलाई दिएको छ । यसको बारेमा आज बस्ने मन्त्रिपरिषदको बैठकले गर्नेछ । विश्वमहामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन गत चैत ११ गतेबाट नेपाल सरकारले लकडाउन गर्दै आएको छ ।

कोरोना संक्रमणको नियन्त्रणको मुख्य अस्त्र लकडाउन र जनताको इमान्दारिताले पुष्टि गरिसकेको छ । विश्व स्वास्थ्य संगठनले पनि कोरोना संक्रमणको क्षेत्रमा नेपाल अति उच्चजोखिम उच्च जोखिममा झरेको अर्थात एक तह तल आउन सफल भएको जनाएको छ ।