नेपालगञ्ज, १३ बैशाख । बर्दिया जिल्लाको कोठियाघाटस्थित क्रसर उद्योगमा काम गर्ने दुई भारतीय मजदुर भारत फर्किए लगत्तै उनिहरुमा कोरोना संक्रमण पुष्टि भएपछि कोठियाघाट क्षेत्रलाई शिल गरेर सतर्कता बढाईएको छ ।
भारतको बहराईच जिल्ला नानपारा निवासी २ मजदुरहरु यही बैशाख ५ गते घर फर्किएको र उनिहरुलाई त्यहाँ परिक्षण गर्दा उनिहरु दुबैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय प्रहरीले जनाएको छ ।
बहराईचस्थित भारतीय प्रहरी कार्यालयले बर्दिया जिल्ला प्रहरीलाई एक पत्र लेखेर नेपालबाट भारत फर्किएका दुई जना भारतीय मजदुरमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।
प्रमुख गिरीका अनुसार कोठियाघाट क्रसरमा काम गरिरहेका उनीहरू गत बैशाख ५ गते बर्दियाबाट भारतको बहराईच फर्किएका थिए । बैशाख ५ गतेसम्म बर्दियामै रहेका ती दुबै ब्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएपछि बर्दियामा संक्रमणको जोखिम अत्याधिक बढेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गिरीले बताए ।
उनले भारतीय नागरीकसँगै काम गर्दै आएका क्रसर उद्योगका सबै मजदुरको स्वाव संकलन गरी परिक्षण गर्ने तयारी भईरहेको जनाउँदै सो क्षेत्रलाई सिल गरिएको बताए । नेपाल भारतको सीमामा पर्ने बर्दिया जिल्लासँग जोडिएको भारतको बहराइचमा दुई दिन अघिमात्र ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबारदेखि सिमानामा निकै कडाई गरिएको ठाकुरबाबा नगरपालिकाले जनाएको छ ।
गोरखापत्र अनलाइनबाट