इन्द्रेणी संवाददाता
काठमाडौं, १३ वैशाख । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
बैठकमा लकडाउनलाई थप गर्ने वा खुकुलो गर्ने विषयमा मोडल परिवर्तन गरेर लैजाने प्रस्ताव आएकाले यसबारेमा भने केही निष्कर्ष निस्कन सकेन । लकडाउनलाई बढी प्रभावित क्षेत्र र कम प्रभावित क्षेत्र छुट्याएर उक्त क्षेत्रमा मात्र कडिकडाउ गर्नुपर्ने धारणा बैठकमा सदस्यहरुले राखेका थिए ।
बैठकमा धेरै प्रस्तावहरु आएकाले लकडाउनलाई यसैगरी निरन्तरता दिने, खुकुलो बनाउने, जोन निर्धारण गर्ने, लगायतका विभिन्न प्रस्तावहरुलाई भोली आइतवार वस्ने मन्त्रिपरिषद बैठकमा पठाउने बताइएको छ । लकडाउनलाई के गर्ने भन्ने अन्तिम निर्णय मन्त्रिपरिषद बैठकले गर्ने छ ।
