काठमाडौँ, ११ वैशाख । उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ । कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको अधिकार जनआन्दोलनको शक्तिका कारण पाएकाले लोकतन्त्र दिवसको महत्व छ ।
माघ १९ पछि तत्कालीन आन्दोलनरत सात दल र सशस्त्र जनयुद्ध गरिरहेको नेकपा माओवादीबीच २०६२ मङ्सिरमा १२ बुँदे समझदारी भएपछि जनआन्दोलनको वातावरण बनेको थियो । जनआन्दोलनको माग २०५९ जेठ ८ गते विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना, निरङ्कुश राजतन्त्रको अन्त्यलगायत थियो ।
नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको आन्दोलनमा लाखौँ मानिस सडकमा उत्रिएपछि २०६३ सालमा आजैका दिन संसद् पुनःस्थापनासहित जनताले अधिकार पाएका थिए । यसैले यस दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
लोकतन्त्र स्थापना भएपछि त्यसै वर्ष जेठ ४ गते बसेको प्रतिनिधिसभाको बैठकले राजतन्त्र निलम्बनसहित महत्वपूर्ण ऐतिहासिक घोषणा गरेको थियो । यही घोषणाबमोजिम पहिलोपटक २०६४ चैत २८ गते पहिलो संविधानसभाको निर्वाचन भयो । रासस