Indrenionline.com

२७६ जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखियो

सल्यान, १० बैशाख । गत चैत्र १ गतेदेखि नै हेल्थडेस्क स्थापना गरेर कोरोना रोकथामको कदम चालेको सल्यानको कपुरकोट गाउँपालिकाले २७६ जनालाई उद्धार गरेर कवारेन्टाइनमा राखेको छ ।

काठमाण्डौँ, भक्तपुर, ललितपुरका विभिन्न ईट्टाभट्टा तथा बागलुङ, स्याङ्जा, धादिङ, नुवाकोट, रसुवा लगाएतका जिल्लाबाट हालै कपुरकोट गाउँपालिकाभित्रका मात्रै २७६ जनालाई फर्किएको गाउँपालिकाले जनाएको छ ।

विभिन्न निकायसँग अलपत्र परेका र समस्यामा परेका नागरिकहरुलाई उद्धार गरेर ल्याइएको गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले जानकारी दिए । सोमबार मात्रै उद्धार गरेर ल्याइएका १४६ जना नागरिकहरुलाई खाजाको ब्यवस्था गरी आवश्यक परामर्स दिएर सम्बन्धित वडामा रहेका क्वारेन्टाइनमा पठाइएको अध्यक्ष सेनले जानकारी दिए ।

गाउँपालिकाले पालिकास्तरीय एउटा क्वारेन्टाइन निर्माण गरेको छ भने हरेक वडामा सामुदायिक क्वारेन्टाइन पनि निर्माण गरेको छ । स्थानीय समुदायले नै संचालन, रेखदेख गर्ने गरी र गाउँपालिकाको समेत साझेदारी हुने गरी क्वारेन्टाईन निर्माण गरिएका छन् । भारत लगाएतका तेश्रो मुलुकबाट आएका ५१ जना मध्ये ११ जनाको पिसीआर टेष्ट र ३६ जनाको ¥यापिड टेष्ट गरिसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जनाए । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । देशभित्रैबाट आएका नागरिकहरुको खोजी र उद्धारमा पनि गाउँपालिकाले गम्भीरतापूर्वक ध्यान दिएर कोरोना संक्रमण र रोकथामको कामलाई प्रभावकारी बनाइएको जनाएको छ ।