दाङ ७ , बैशाख । दाङ जिल्लालाई कोरोना भाइरस शुन्य जिल्ला बनाउन जिल्ला स्वास्थ्य कार्यालयको टोली जनताकै घरदैलोमा पुगेर कोरोना परिक्षण गर्ने क्रमलाई तिब्र बनाएको छ । कोरोना भाइरसको संक्रमणले विश्वलाई थिलोथिलो बनाएको बेला जिल्ला स्वास्थ्य कार्यालय दाङको टिम र्यापिड टेस्ट गर्न विभिन्न पालिकामा पुग्न सुरु गरेको हो ।
यसैक्रममा आज आइतबार जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेलको नेतृत्वको टोली राजपुर गाउँपालिका र गडवा गाउँपालिकामा र्यापिड टेस्ट गरेको छ ।
टोलीले आज आइतबार राजपुर गाउँपालिकाका ११ र गडवा गाउँपालिकाका २ जनाको र्यापिड टेस्ट गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख पौडेलले बताइन ।
भारत संग सिमा जोडिएकाले दाङ जिल्ला कोरोना भाइरसको जोखिम रहेको जिल्ला भएकाले पनि हालसम्म कुनै पनि रिपोर्ट पोजेटिभ नआउनु सुखद भएको बताउदै प्रमुख पौडेलले क्वारेन्टाइनमा मानिसहरु नआएको बताइन ।
कोरोना भाइरसलाई निर्मुल पार्ने उपाए भनेकै शंकास्पद बिरामी क्वारेन्टाइनमा बस्ने, र्यापिड टेस्टको मात्रा बढाउने, र लकडाउनको पूर्ण पालना गर्ने भएकाले त्यहि अनुसार गर्न सबैलाई आग्रह गर्दै स्वास्थ्य कार्यालय प्रमुख पौडेलले क्वारेन्टाइनमा बस्ने र र्यापिड टेस्टको मात्रा बढाउनुपर्ने बताइन ।
स्वास्थ्य कार्यालय प्रमुख पौडेलका अनुसार दाङ जिल्लामा हाल सम्म कोरोनाको संक्रमण भेटिएको छैन र शंकास्पद ६० जनाको हालसम्म र्यापिड टेस्ट गरिएको छ ।
