Indrenionline.com

लकडाउनले किसानको मह घारभित्रै…..

प्यूठान, ७ बैशाख । लकडाउनको असर प्यूठानको मौरीपालन व्यवसायमा पनि परेको छ । अहिले मौरीले मह उत्पादन गर्ने तथा काढ्ने उपयुक्त समय भए पनि लकडाउनका कारण चरन क्षेत्रसम्म पुग्न नपाउँदा समस्या भएको गुनासो किसानहरूले गरेका छन् ।

मह काढ्न नपाउँदा मौरी घार फुटाएर गएको प्यूठान नगरपालिका–७ टिकुरीका मौरीपालक कृषक मधुसुदन भण्डारीले बताए । ‘मौरी चरनका लागि कपिलवस्तु लगेका छौं,’ उनले भने, ‘लकडाउनका कारण त्यहाँ जान पाएका छैनौं । मौरीको रेखदेख गर्न नपाउँदा घारबाट भागेका छन् ।’ उनका अनुसार टिकुरीका कृषकको मौरी कपिलवस्तु, लुम्बिनी, बाँके लगायत ठाउँमा चरनका लागि लगिएको छ ।

आफू एकातिर मौरी अर्कोतिर हुँदा मौरीको हेरचाह गर्न नपाएको प्यूठान नगरपालिका–७ का अर्का कृषक डिमराज पोख्रेलले बताए । ‘मौरी हेरचाहका लागि पास लिएर गए पनि लकडाउनका कारण बस्ने होटल नै छैनन्,’ उनले भने ।

मौरी जिल्ला बाहिर, कृषक प्यूठानमा हुँदा मौरीका गोला चोरी हुने डर बढेको नेपाल मौरीपालन महासंघ प्यूठान शाखाका अध्यक्ष विष्णु सारूले बताए । सरकारले किसानलाई एक दिनको मात्र पास दिएकोले राम्रोसँग मौरीको हेरचाह गर्न नसकेको र एक दिनको पासले जाने आउने मात्र भएको उनी बताउँछन् । ‘एक दिनको मात्र पास हुँदा मह काढ्न तथा गोला सार्न पाएका छैनौं,’ उनले भने, ‘सरकारले आवश्यकता हेरेर २–४ दिनको पासको व्यवस्था गर्नुपर्छ ।’ यो समयमा जंगलमा फूल फुल्ने हुँदा मौरी घारबाट जंगलतिर भागेको उनले बताए ।

उनका अनुसार मौरीपालन महासंघ, प्यूठान शाखामा ५५ जनाको दर्ता भए पनि प्यूठानमा २५ जनाले मात्र व्यावसायिक रूपमा मौरीपालन गर्दै आएका छन् राजेश जीसीले अभियानमा लखेका छन्। सेरेना र मेलीफेरा जातका मौरी पालन गरिँदै आएको प्यूठानमा वार्षिक ३०–३५ टन मह उत्पादन हुने गरेको अध्यक्ष सारुले जानकारी दिए ।