Indrenionline.com

सप्तरी, काभ्रे र धादिङका पाँच जनाको आरडीटी रिपोर्ट पोजेटिभ

काठमाडौं, ३ बैशाख । सप्तरीका दुई जना पुरुषमा र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । भारतको दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएपछि घरमै बस्दै आएका दुई जनाको मंगलबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आरडीटी गर्दा पोजिटिभ रिपोर्ट आएको हो ।

त्यस्तै काभ्रेका दुई जनामा पनि र्‍यापिड टेस्ट गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको छ । बेथान्चोक गाउँपालिकाका २८ बर्षिय र मण्डनदेउपुरका २३ बर्षिय पुरुषमा आरडीटी परीक्षण पोजिटिभ देखिएको हो ।

एकजना भारत र एक जना दुवईवाट फर्केका युवा हुन् । दुबैको स्वाव परीक्षणका लागि धुलिखेल अस्पताल पठाइएको छ । स्वाब परीक्षणपछि मात्रै कोरोना संक्रमण भए नभएको खुल्नेछ । दुबैजनाका परिवारलाई पनि क्वारेन्टिनमा राखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै धादिङको ज्वालामुखी गाँउपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षिय एक युवकको पनि आरडीटी रिपोर्ट पोजेटिभ आएको छ । ज्वालामुखी–३, अमराई निवासी युवक फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । थप परिक्षणका लागि उनलाई सदरमुकामस्थित अस्थायी आइसोलेसनमा राखेर स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ ।