वासिङटन डिसी, ३ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलवार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई अमेरिकाले दिइरहेको आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएका छन् ।
ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने, ‘विश्व स्वास्थ्य संगठनलाई दिइआएको आर्थिक सहायता रोक्न मैले आजै प्रशासनलाई निर्देशन दिइसकेको छु । हामी यो रकम स्वास्थ्य क्षेत्रमा सोझै लगानी गर्नेछौं ।’
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसका सम्बन्धमा ठोस योजना बनाउनु अघि नै विश्व स्वास्थ्य संगठनलाई यस महामारीले निम्त्याउने भयावह अवस्थाका बारेमा जानकारी रहेको दाबी गरेका थिए ।
कोरोना भाइरसका कारण अहिले संयुक्तराज्य अमेरिका सबैभन्दा बढी प्रभावित रहेको छ । कोरोना भाइरस फैलिएदेखि हालसम्म संयुक्तराज्य अमेरिकामा मात्र २५ हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने छ लाखभन्दा बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग सम्बन्धित सूचना ढाकछोप गरेको समेतका विषयमा विश्व स्वास्थ्य संगठनमाथि नै अमेरिकी अधिकारीहरुले छानबिन गर्ने पनि बताए ।
पछिल्लो समयमा विश्व स्वास्थ्य संगठनसँग चीनको बढ्दो हिमचिमका बारेमा आलोचना हुन थालेको छ । विश्वभर नै संकट उत्पन्न गरेको कोरोना भाइरसको महामारीबाट विश्वभर १ लाख २६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने २० लाखभन्दा बढी मानिस संक्रमित भएका छन् । राससरएएनआई